निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

NAWALPUR TIMES

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार
FB IMG 16219465297014577

रासस ।देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक विस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उनले बताए । उनले भने, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।”

निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए । कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ । निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उनले बताए । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताए ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमिकतामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताए । समग्र ठेक्काको हिसाबले १५÷२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ ।
चिनियाँ कम्पनीले पनि स्वास्थ्य मापदण्डको पालना गरेर काम अघि बढाइरहन चाहेको बताइन्छ ।  नारायणगढदेखि बुटवल सडकको लम्वाई ११५ किमी रहेको छ । सो सडकमा पूर्व र पश्चिम गरेर दुई ठेक्कामा निर्माण भइरहेको  । चिनियाँ कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले दुबै ठेक्कामा निर्माण अघि बढाइएको छ ।

‘डेडिकेडेट डबल लेन’ सडकमा कतै ठाउँ हेरेर तीनदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो ।  बजार क्षेत्रमा मुख्य राजमार्ग चार लेन र दुई लेन सर्भिस ट्याक गरी छ लेनमा विस्तार हुँदैछ । मुख्य राजमार्गको दुबैतर्फ एक/एक लेनको सर्भिस ट्याकको निर्माण हुनेछ । जङ्गल क्षेत्र, बस्ती नभएका क्षेत्रमा चार लेन हुने छ भने दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुँदैछ । क्षमताभन्दा बढी तौल बोकेका धेरै गाडीहरु धेरै दाउन्ने आइपुगेर बिग्रने गरेको छ । एउटा लेनमा गाडी बिग्रिए पनि अरु दुई लेनबाट दुवैतर्फ पास हुनसक्ने भन्दै तीन लेनमा विस्तार गर्न लागिएको बताइएको छ ।-फाईल तस्बिर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology