निर्माणमा लापरवाही: तीन महिनामा २१ वटा ठूला पुल भत्किए

NAWALPUR TIMES

निर्माणमा लापरवाही: तीन महिनामा २१ वटा ठूला पुल भत्किए
bridge break

काठमाडौं, असार २४ । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो। निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ। चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल भत्केपछिका तीन महिनामा सडक विभाग मातहतका कम्तीमा २१ वटा पुल भत्किएका छन्।

विभाग मातहतबाहेक प्रदेश र केही स्थानीय तहले निर्माण गरेका पुल पनि भत्किएका छन्। विभागका महानिर्देशक अर्जुनजंग थापाले वैशाखयता २१ वटा पक्की पुल भत्केको जानकारी दिए। यसमध्ये ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका पुल हुन्। थापाका अनुसार पुल भत्किँदा दुई अर्बभन्दा धेरै लगानी नोक्सान भएको छ। यसले निर्माणमा गम्भीर लापरबाही भएको देखाएको छ।

नेपालमा पक्की पुल बारम्बार भत्किनुमा गुणस्तरीय निर्माणमा गरिने खेलाँची र डिजाइनमै त्रुटि मुख्य कारण भएको विज्ञहरूले बताउँदै आएका छन्। सरकारले लागत घटाउने नाममा तराई क्षेत्रमा कम उचाइका पुल बनाएकाले पनि समस्या आउने गरेको छ। नदीमा सामान्यभन्दा केही बढी रुपमा बाढी आएमा कम उचाइका पुलमा क्षति पुग्ने, भत्किने र पिल्लर भासिने गरेको छ। यही असारमा बाढीले तराईका केही पुलहरूमा क्षति पुर्‍याएको छ। यो वर्ष बर्खा सुरु भइसकेको छ। प्रि–मनसुनकै बेला भएको क्षतिले आगामी दिन झनै भयावह हुने संकेत मिलेको छ।

विभागका महानिर्देशक थापाका अनुसार बाढीपहिरोका कारण क्षतिग्रस्त भएका पुलमध्ये १० वटा विभागले मर्मतसम्भार गर्नुपर्ने रहेका छन्। ‘निर्माणाधीन अवस्थामा भत्किएका पुलको आर्थिक भार ठेकेदार कम्पनीमा रहन्छ,’ उनले भने, ‘हस्तान्तरण नभएका पुलको आर्थिक भार विभाग मातहत आउँदैन।’ सडक विभागले १० वटा पुल पुनर्निर्माणका लागि ३० देखि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको उनले बताए। थापा धेरै वर्षपछि ठूलो बाढीपहिरो आएकाले धेरै पुलमा क्षति भएको बताउँछन्। ‘अघिल्ला वर्षको तुलनामा अहिले बाढीपहिरोले पुल तथा सडकका संरचना धेरै भत्काएको छ,’ उनले भने, ‘बाढीपहिरो अचानक आउने गर्छ। बाढीपहिरोले जोगाउने गरी पुलको डिजाइन गरिएको हुँदैन।’ सडक विभाग मातहत मुलुकभर २२ सय पुल छन्। नागरिक दैनिकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology