नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को डिजाइन तयार गरिँदै

NAWALPUR TIMES

नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को डिजाइन तयार गरिँदै
thumb 2

नारायण शर्मा, पूर्वी नवलपरासी  । नारायणी नदीमाथि बन्ने ‘सिग्नेचर ब्रिज’को लागि अहिले डिजाइन तयार गर्ने काम भइरहेको छ । ब्रिज निर्माणका लागि तुन्डी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का सम्झौता भएको ४ वर्षमै नयाँ सिग्नेचर ब्रिज निर्माण गर्नुपर्नेछ । ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा (भ्याटसहित) ठेक्का सम्झौता भएको हो ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार ४ वर्षमध्ये एक वर्षको समय डिजाइन निर्माणका लागि लाग्ने छ । अरु ३ वर्ष पुल निर्माणको समयावधि हुने छ । ‘४ वर्षभित्र सिग्नेचर पुल निर्माण हुन्छ, अहिले डिजाइनको काम भइरहेको छ’ उनले भने । नयाँ बन्ने पुल ४ लेनको हुने छ । ‘त्यो पुल कर्णालीको पुल जस्तो पनि हुनसक्छ वा बिल्कुलै नयाँ पनि हुन सक्छ’ उनले भने ‘उपयुक्त डिजाइन तयार भएपछि मात्रै कस्तो पुल बन्छ भन्ने थाहा हुन्छ ।’

२०३५ सालतिर भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो भएको छ । यसैसँग जोडर नयाँ पुल निर्माण गरिने भएको हो । महाशाखाले भरतपुर नगरपालिका वडा नम्बर २६ को घोसरघाटबाट पूर्वी नवलपरासीको पिठौली जोड्नेगरी बन्ने पुलको बिहीबार स्थलगत निरीक्षण पनि गरेको छ । स्थानीयस्तरमा पुल बनाउँदा देखा पर्न सक्ने समस्याबारे अध्ययन गर्न स्थलगत निरीक्षण गरिएको शाक्यले बताए ।

गैंडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, भरतपुरकी मेयर रेणु दाहाल, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तुन्डी कन्स्ट्रक्सनका प्रतिनिधिले बिहीबार पुल निर्माण गरिने स्थलको निरीक्षण गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology