नारायणीले धार परिवर्तन गरेसँगै नवलपुरका संरक्षणकर्मी चिन्तित

NAWALPUR TIMES

नारायणीले धार परिवर्तन गरेसँगै नवलपुरका संरक्षणकर्मी चिन्तित
IMG 20230117 WA0002

राजु चापागाई
कावासोती, ३ माघ(रासस) : नारायणी नदिको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गए पछि नवलपुर तर्फको नारायणी नदि तटिय क्षेत्रका सर्वसाधारण र संरक्षणकर्मीहरुको लागी चिन्ताको विषय बनेको छ ।

नारायणघाटमा रहेको नारायणी नदिको पुल देखि केही किलोमिटर तल शिख्रौलीघाट बाट नारायणी नदि दुई वटा भंगालोमा बाडिएर बगेको छ । नवलपुर तिर बग्ने भंगालोलाई उत्तरी र चितवन तर्फ बग्ने भंगालोलाई दक्षिणी भंगालो भन्ने गरिन्छ । यति बेला नारायणी नदिको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भंगालोबाट बग्न थाले पछि नवलपुर तर्फका संरक्षणकर्मी र सर्वसाधारणको लागि भविष्यमा यस्ले पु¥याउन सक्ने सम्भावित असर चिन्ताको विषय बनेको हो । चितवन तर्फ विकास निर्माण तथा नारायणी नदिको तटबन्धका लागि सेतिदेवि सामुदायिक वन आसपास अत्याधिक मात्रामा नदि उत्खनन गर्दा गहिरिएर नदिको बहाव दक्षिण भंगालो तर्फ सोझिदा नवलपुरका तटिय क्षेत्र सुख्खा हुने अवस्थामा पुगेका हुन ।

केही दिन अघि मात्रै चरा गणनाको लागि नारायणी नदि किनारमा पुगेको टोलिलाई पनि नवलपुर तर्फ पानीको बहाव कम हुदा समस्या आएको संरक्षणकर्मी डिबि चौधरीले बताउनु भयो । यति बेला नवलपुर तर्फको उत्तरी भंगालोमा पानीको बहाव निकै कम हुदा चरा गणनाको क्रममा पिठौली घाट देखि शिख्रौली घाट सम्म डुङ्गा समेत चल्न नसकेको उहाँको अनुभव थियो । उत्तरी र दक्षिणी भंगालो अमलटारी घाटमा आएर मिसिने हुदा अमलटारी देखि शिख्रौली सम्मको उत्तरी भंगालो लगभग सुख्खा हुने अवस्थामा पुगेको उहाँले बताउनु भयो । “यति बेला नारायणीको पानीको लगभग ९५ प्रतिशत पानी चितवन तर्फको दक्षिण भंगालोबाट बगेको छ, यस्ले गर्दा नवलपुरको तटिय क्षेत्र, जैविक विविधता र निकुञ्जको सुरक्षामा समेत चुनौती थपिएको छ”, चौधरीले भन्नूभयो ।

धेरै मात्रामा नदि जन्य पदार्थ उत्खनन् गर्दा नदिले धार परिवर्तन गरेर दक्षिणी भंगालो तर्फ गएको अर्का संरक्षणकर्मी विष्णु अधिकारी बताउनु हुन्छ । नारायणी नदिको उत्तरी भंगालो आश्रीत भएर नवलपुरका तटिय क्षेत्रमा सन्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदिमा आश्रीत जलचर र थलचर प्राणीलाई समेत यस्ले गम्भीर असर पार्ने उहाँको भनाई छ । उत्तरी भंगालोमा नदिको पानी कमहुदाँ निकुञ्जका वन्यजन्तु समेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यस्ले मानव वन्यजन्तु द्वन्द थप बढने अधिकारी बताउनु हुन्छ ।

प्राकृतिक कारणले नदिले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानविय क्रियाकलापको कारण नदिको धार परिवर्तन हुनु दुखद भएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे बताउनु हुन्छ । चितवन तर्फ विकास निर्माणका लागि अत्याधिक मात्रामा नदि उत्खन्न गरिदा नवलपुर क्षेत्रको तटिय क्षेत्र सुख्खा ग्रस्त हुँदै गएको र यस्ले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पु¥याउने पाण्डेले बताउनु भयो । धार्मिक आस्था सँग जोडिएको नारायणी नदिमा हिउँदको समयमा नवलपुर क्षेत्र तर्फ नदि स्नान लगाएतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव हुन लागेको पाण्डेले बताउनु भयो । “यसरी नदिको पानी घटदै जादा धार्मिक, आर्थिक , पर्यटकिय गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने भएकाले नदिलाई प्राकृतिक रुपमा नै बग्न दिनु पर्छ”, पाण्डेले भन्नु भयो ।

नारायणी नदिको उत्तरी भंगालोमा पानीको सतह घटदै गए पछि निकुञ्जको सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउनु हुन्छ । “स्वाभाविक रुपमा उत्तरी भंगालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रीत जनसमुदायमा यस्ले गम्भीर असर पुग्ने देखिएको छ” तिवारीले भन्नूभयो । उत्खनन भएको भनिएको क्षेत्र निकुञ्ज क्षेत्र भित्र नपर्ने भएकाले नदिको धार आफै परिवर्तन भएको हो या उत्खनन को कारणले भएको यसै भन्न नसकिने उहाको धारणा थियो ।

नारायणी नदिको उत्तरी भंगालोमा पानी घटे पछि संरक्षणकर्मी मात्रै होईन नदि किनारका बासिन्दाहरुका लागी भने यो ठूलो चिन्ताको विषय बनेको छ । नदिमा आश्रीत भएर माछा मारेर जिविकोपार्जन गर्ने बोटे माझी मुश्हर समुदाय मात्रै होईन नारायणी नदिमा किनारमा रहेका होमस्टे, होटल व्यवसायी तथा पर्यटन व्यवसयीहरु चिन्तित बनेका छ्न । सँगसँगै नदि किनारमा दाहा संस्कार गर्न तथा अन्य धार्मिक गतिविधि सन्चालन गर्न समेत समस्या भएको सरोकारवालाहरु को धारणा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology