नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन

NAWALPUR TIMES

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन
download

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न पत्र काटेको छ । विकास समितिले सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद भएकाले मन्त्रालयको निर्देशनअनुसार निर्माण कार्य रोक्न भनेको हो । ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि भएका सम्झौता, टेन्डर लगायतका निर्णयका कागजात झिकाएका छन् । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘निर्माण कार्य तत्काल रोक्नका लागि मन्त्रीले निर्देशन दिनुभएको हो । निर्माणसँग सम्बन्धित फाइल मन्त्रालयमा झिकाउनुभएको छ । त्यसमा निर्णय प्रक्रिया, टेन्डर, भाडा रकम सम्झौता रहेका छन् ।’ भाडा रकम उचित हो कि होइन भन्ने पनि थप बुझिने उनले बताए ।

मन्त्रीले कागजात मगाएपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका प्रमुखले अपुरो कागजात मन्त्रालयमा बुझाएको र बाँकी कागजात पनि मगाइएको रेग्मीले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology