नारायणघाट- बुटवल सडक निर्माणलाई तिब्रता दिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

NAWALPUR TIMES

नारायणघाट- बुटवल सडक निर्माणलाई तिब्रता दिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
IMG 20230117 WA0028

कावासोती : उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुटवल नारायणघाट सडक बिस्तारको कामलाई तीब्रता दिन निर्देशन दिनु भएको छ ।

सडक बिस्तार आयोजनाको अनुगमन गर्न मंगलबार पुर्वी नवलपरासी आईपुग्नु भएका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको काम ढिलो हुँदा जनताले दुख पाएको बताउदै क्रममा निर्माण कम्पनी चाईना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधिहरुलाई सडक बिस्तारको कामलाई तिब्र गतिमा अगाडि बढाउन निर्देशन दिनु भएको हो ।

अहिलेको कामको गति हेर्दा सन्तुष्ट हुन सक्ने अवस्था नरहेको र निर्माण कम्पनीले आयोजना पूरा गर्न नसक्ने हो कि भन्ने गम्भीर आशंका उत्पन्न भएको बताउदै उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तिब्रता दिन निर्देशन दिनु भएको छ ।

ठुला आयोजनाका लागि निर्माण कम्पनीलाई क्रसर चलाउन अनुमती दिईएको हुँदा अवैध क्रसर बन्द गर्ने सरकारको निर्णयका कारण आयोजनालाई ढिलाई गर्ने छुट आयोजना निर्माण कम्पनीलाई नभएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । “अवैध क्रसर बन्दको निर्णयले ठुला आयोजनामा परेको असरको विषयमा प्रधानमन्त्री, गृहमन्त्री र मेरो छ्लफल भएको छ, ठुला आयोजनालाई आफ्नै क्रसर चलाउने अनुमती छ, सरकारको अवैध क्रसर बन्द गर्ने निर्णय देखाएर आयोजना रोक्ने छुट छैन”उपप्रधानमन्त्री श्रेष्ठले भन्नु भयो ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो। एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ। निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology