नवलपुरमा २६ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने

NAWALPUR TIMES

नवलपुरमा २६ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने
vitamin d

कावासोती । नवलपुरका २६ हजार ४ सय ८५ बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख मुक्तिराम भट्टराईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या करिव ३० हजार छ ।

उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाईने छ । यो उमेर समूहमा २३ हजार ७ सय ६१ जनसंख्या रहेको छ ।३५९ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने भट्टराईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरु देखापर्दछ । भिटामिन ‘ए’ कमी भएमा छाला सुख्खा हुने, छालामा पटकपटक संक्रमण हुने, आँखा सुख्खा हुने, राति आँखा देख्न गाह्रो हुने, गर्भाधान नहुने, बालबालिकाको ढिलो विकास हुने, पटकपटक छाति तथा घाँटीको संक्रमण हुने र घाउ ढिलो निको हुने जस्तो समस्या देखिन्छन् ।यसैगरी पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

विभिन्न माध्यमबाट जुकाको फुल पेटमा प्रवेश गरिसकेपछि आन्द्रामा गएर बस्छ । जुन दुई–तीन सातामा लार्भामा परिणत हुन्छ । अनुकूल वातावरण पाएपछि लार्भाका कारण पेटमा संक्रमण सुरु हुन्छ । साथै सामान्यतया गर्भाधानपछि ती लार्भाले लाखौँको संख्यामा फुल पनि पार्न थाल्छ । जुकाका फुलहरू दिसाको माध्यमबाट बाहिर निस्कछन् ।पेटभित्र जुका विकसित भइसकेपछि सानो आन्द्रको भित्तालाई छेडेर रगतनलीमा पस्ने गर्छ । त्यसपछि पुनः फोक्सोबाट घाँटीमा आइपुग्छ । बिस्तारै अन्ननली हुँदै आमाशयमार्फत सानो आन्द्रामा जाने गर्छ । जसकारण जुका घातक पनि हुन सक्छ ।

जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, तौल घट्दै जानेजस्ता लक्षण देखा पर्छन् । बालबालिका कुपोषणको सिकारसमेत हुने गर्छछन् । जुका रक्तनली हुँदै फोक्सोमा पुगेमा खोकी लाग्ने र श्वास छिटोछिटो चल्ने हुन्छ । कतिपय अवस्थामा जुकाले आन्द्रामा रुकावट सिर्जना गर्छन् । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र बान्ता हुने गर्छ । जटिल हुँदै गएमा आन्द्रा च्यातिने वा प्वाल पर्ने हुन्छ । त्यसैले सरकारले सञ्चालन गरेको अभियानमा जुकाको औषधि खुवाउने गर्नु पर्दछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology