नवलपुरमा बढयो मानव-वन्यजन्तु द्वन्द

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ९ गते १६:५५
नवलपुरमा बढयो मानव-वन्यजन्तु द्वन्द
1719054482822

सन्जय भट्टराई, कावासोती । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

चितवन राष्ट्रिय सँग जोडिएको र निकुञ्जको मध्यवर्ती क्षेत्रको ठूलो हिस्सा ओगटेको नवलपुरमा समेत पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढदै गएको सरकारी तथ्यांकले नै देखाएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुर लगायतका वन्यजन्तुको आक्रमणबाट ११ महिनाको समयमा नवलपुरमा मात्रै ५ जना को मृत्यु र ५८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणका ४ सय २ वटा घटना भएका छन् । वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १२ जना सख्त र १५ जना सामान्य घाइते भएका छन् ।

वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेका तथा खेतबारीका अन्नबालीमा पनि क्षति पुर्‍याएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले बताउछ ।

मानव-वन्यजन्तु द्वन्द्वका घटनाबाट वन्यजन्तुमा पर्न जाने क्षतिलाई कम आँक्न मिल्दैन । नवलपुरमा मात्रै पछिल्लो ४ महिना यता ४ वटा पाटे बाघ र १ वटा चितुवा मरेका छ्न । मरेका ४ मध्य ३ वटा बाघ र १ वटा चितुवा मानव वन्यजन्तु द्वन्दको कारण मरेका डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारी बताउछ्न ।

सरकारी तथ्यांक हेर्दा पछिल्लो केही वर्षहरु सरकारी निकायले वन्यजन्तुबाट हुने डर घटाएर वन्यजन्तु संरक्षणमा स्थानियलाई उत्प्रेरित गराउन नसकेको देखिएको हो । वन्यजन्तुको संख्या बढेसँगै उनिहरुको उचित व्यवस्थापन हुन नसक्दा मानव वन्यजन्तु द्वन्द बढदै गएको सरोकारवालाहरु बताउछ्न ।

सामुदायिक वन, मध्यवर्ती क्षेत्र भित्र चरिचरनका लागि घाँसे मैदान, पिउने पानीको स्रोतको अभाव हुँदा वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्दा पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढदै गएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना बताउछ्न ।

पछिल्लो समय संरक्षण प्रति स्थानियलाई उत्प्रेरित गर्न नसक्नु पनि मानव वन्यजन्तु द्वन्दको अर्को कारण भएको उनको भनाई छ । केहि वर्ष अगाडी सम्म निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समिति मार्फत स्थानिय जनतामा पुग्ने बजेट घटदै गएकोले पनि स्थानिय जनताले चासो घटाउदै गएको ढुंगानाले बताए ।

वन्यजन्तुले पुर्‍याएको मानवीय तथा कृषि पशुधनको क्षतिपूर्तिको लागि झन्झटिलो प्रक्रिया र लामो समय लाग्ने भएकाले पनि स्थानियहरु पछिल्लो समय संरक्षण प्रति उदासिन हुँदै गएका छ्न । गएको २०८० को पुस ८ गते विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँस काटन गएका एकै घरका सासू बुहारी मनादेवी पौडेल र विष्णु पौडेलको बाघको आक्रमणमा परेर मृत्यु भएको भए पनि अहिलेसम्म उनिहरुको परिवारले क्षतिपूर्ति सम्म पाएका छैन्न । डिभिजन वन कार्यालय कावासोतीका अधिकृत शिशिर लम्सालका अनुसार अहिले पनि क्षतिपूर्तिको फाईल विभागमै अडकिएर बसेको छ । यस्ता घटनाहरुले पनि संरक्षण प्रति स्थानियको चासो घटदै गएको र मानव वन्यजन्तु द्वन्द बढदै गएको हो ।

जैविक विविधता संरक्षणको स्थानिय सरकारले मुख्य चासो राख्नु पर्ने भए पनि यो विषयमा स्थानिय सरकारहरु समेत प्राय बोल्न चाहदैन्न । पछिल्लो समय वन, मध्यवर्ती, निकुञ्ज आसपासका खोला तथा नदि जन्य पदार्थ उत्खन्न र त्यसको रोयल्टीका विषयमा स्थानिय तहहरु असन्तुष्ट हुँदा पछिल्लो समय नवलपुरलाई चुरे तथा मध्यवर्ती बाट हटाउनु पर्ने माग समेत उठदै गएको छ । २०७४ को स्थानिय तहको निर्वाचन अगाडि स्थानिय तह नहुदा मध्यवर्ती मार्फत आउने बजेटले विकास निर्माण समेत हुँदा स्थानिय जनतामा रहेको संरक्षणको चासो र चिन्ता अहिले मध्यवर्तीको बजेट घटेसँगै घटेको मात्रै होईन नदि तथा खोलाजन्य पदार्थ मा स्थानिय तहलाई अपनत्व नदिदा स्थानिय तहहरु सकारात्मक हुन नसकेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले बताए । निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत बजेट मध्यवर्ती क्षेत्रलाई दिने मात्रै होइन सामुदायिक वन क्षेत्रमा पर्याप्त घाँसे मैदान र पानीको स्रोतको उचित व्यवस्थापन गर्न नसक्ने हो भने मानव वन्यजन्तु द्वन्द अझै बढदै जाने अध्यक्ष ढुंगाना बताउछ्न । सँगसँगै स्थानिय तहलाई अपनत्व हुने गरि वन तथा निकुञ्ज आसपासको खोला तथा नदि जन्य पदार्थको उत्खनन र त्यसको रोयल्टीमा समेत अधिकार स्थापित हुने गरि ऐन संशोधन गरेर अगाडी बढनु पर्ने उनको भनाई थियो ।

मानव वन्यजन्तु द्वन्द्व बढनुको मुख्य कारण राज्यको व्यवहार नै रहेको मध्यविन्दु नगरपालिका का प्रमुख भिमलाल अधिकारी बताउछ्न । जैविक विविधता र पर्यापर्याटन संरक्षणमा स्थानिय जनता जति नै लाग्दा पनि त्यसको प्रतिफल जनता सम्म आउन नसकेको प्रमुख अधिकारीले बताए । सबै भन्दा धेरै संरक्षणमा नदि तटिय क्षेत्र , जंगल र निकुञ्ज सँग जोडिएका स्थानियको योगदान छ तर संरक्षण प्रतिफलमा त्यै समुदाय छुटनु नै अहिलेको मानव वन्यजन्तु द्वन्दको कारण भएको अधिकारीको भनाई थियो । निकुञ्ज, मध्यवर्ती क्षेत्र र वनका संस्थागत रुपमा नै स्थानिय तह सँग सहकार्य गरेर अगाडी बढन नखोजेको बताएका अधिकारीले संरक्षणलाई अगाडी बढाउदै मानव र वन्यजन्तुको द्वन्द कम गर्न वन सँग सम्बन्धित नियमानकारी निकायहरु स्थानिय तह र जनप्रतिनिधिलाई सँगै लिएर अगाडी बढन सक्नु पर्ने धारणा व्यक्त गरे ।

वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन तथा मध्यवर्तीको नियमावलीलाई नै परिवर्तन गरेर स्थानिय तहलाई संरक्षणमा जोडन सकिएन भने मानव वन्यजन्तु द्वन्द अझै बढने अधिकारी बताउछ्न । “यो मानव वन्यजन्तु द्वन्द रोक्नका लागि संरक्षण सँग जोडिएका स्थानियलाई त्यसको प्रतिफलको पहिलो हकदार बनाउन पर्छ र स्थानिय तहलाई सँगै लैजान पर्छ”, अधिकारीले भने ।

प्रकाशित : २०८१ असार ९ गते १६:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI