नवलपुरका १ सय ४४ घर डुबानमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २२ गते ६:४६
नवलपुरका १ सय ४४ घर डुबानमा
IMG 20221006 WA0006

कावासोती(रासस) । अविरल वर्षा पछि नारायणी नदि र अन्य खोलाहरुमा आएको बाढिमा परेर पुर्वी नवलपरासीमा १ सय ४४ घर डुबानमा परेका छ्न ।

बुधबार राति देखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदि र अन्य खोलाहरुमा आएको बाढीमा परेर १ सय ४४ घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले बताउनु भयो ।

पाठकका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन ।

त्यसै गरि लगातार वर्षा पछि खसेको पहिरोको कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पांग्रेमा गएको पहिरोले अवरुद्ध सडक सुचारु हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोडने कालीगण्डकी करिडोरमा गएको पहिरो समेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोर समेत अवरुद्ध भएको प्रवक्ता पाठकले बताउनु भयो । पहाडी क्षेत्र जोडने मुख्यसडकहरु पहिरोले अवरुद्ध हुदाँ पहाडी क्षेत्र पछिल्लो ७२ घण्टा देखि सडक सम्पर्कबाट विच्छेद भएको छ । सडक सम्पर्क बिच्छेद भए पछि दसैं मान्न घर गएकाहरु फर्किन पाएका छैनन भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवन सम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छ्न । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

लगातार परेको वर्षा पछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा २ वटा घर र बुलिङ्गटारमा १ वटा गोठमा क्षती पुगेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा २ सय हेक्टर भन्दा धेरै पाक्न लागेको धान बालीमा पुर्ण रुपमा क्षती पुगेको छ ।

नारायणी नदिमा यस वर्षकै उच्च बाढि आएका कारण जिल्लाको नदि तटिय क्षेत्रको जनजीवन पुर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा साँझको ८ बजे ४ लाख १२ हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनु भयो ।

प्रकाशित : २०७९ असोज २२ गते ६:४६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI