नवलपुरका पहाडी सडक ५ दिनदेखि अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १९ गते १०:४३
नवलपुरका पहाडी सडक ५ दिनदेखि अवरुद्ध
1688191360144

नारायण शर्मा/कावासोती ।
नवलपुरको पहाडका तीन गाउँपालिका जोड्ने सडकमा पहिरो गएका कारण पाँच दिनदेखि यातायात ठप्प छ । लगातारको झरीका कारण पहिरो पन्छाउन नसक्दा यातायात ठप्प भएको हो ।

तनहुसँग सीमा जोडिएका बुलिङटार, बौदीकाली र दक्षिणको हुप्सेकोट आउजाउ गर्ने ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरीका अनुसार गैंडाकोटदेखि डेढगाउँ जोड्ने कालीगण्डकी सडक र दल्दले हुँदै नरम, रुचाङ र बुलिङटार जाने सडक अवरुद्ध छ । पहाडी सडक अवरुद्ध हुँदा खाद्यान्नको समस्या सुरु भएको छ ।

महेन्द्रराजमार्गको दल्दले, कुम्सोत,पोखरी जोडने सडकको पांग्रे र पोखरी भन्ने स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध छ । पहाडी भेगबाट जिल्ला सदरमुकाम आउजाउ गर्न पर्नेहरु पैदल हिँड्न बाध्य छन् ।

कालीगण्डकी सडक खण्डमा पर्ने ४ वटा खोलामा बाढी आएर राजमार्ग अवरुद्ध छ । त्यहाँ पुल निर्माण भइसकेको छैन । पुल बन्दै गरेको स्थानमा खोलाबाट नै गाडी आउजाउ गर्ने गरेकोमा हाल बाढीले खोलामा ग्राभेल थुपारेका कारण आउजाउमा समस्या भएको बुलिङटारका नरबहादुर ठाडाले बताए । ‘गाडी नचलेको आज पाँच दिन भयो,’ ठाडाले भने, ‘तीसौं वर्षदेखि हरेक वर्षात्‌मा पहाडमा यही समस्या छ ।’

पहाडी भेगबाट जिल्ला सदरमुकाम कावासोती आउनपर्नेहरु तनहुँको भिमाद दमौली, मुग्लिन नारायणगढ, गैंडाकोट हुदै आउने गरेका छन् । कावासोती आउने भित्री सडक कच्ची भएका कारण हिँड्न पनि समस्या छ ।

 

प्रकाशित : २०८० असार १९ गते १०:४३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI