नक्कली पिसिआर रिपोर्टका यात्रु ल्याएको भन्दै निगमको उडान नै प्रतिबन्ध लगाउने दुबई विमानस्थलको चेतावनी

NAWALPUR TIMES

नक्कली पिसिआर रिपोर्टका यात्रु ल्याएको भन्दै निगमको उडान नै प्रतिबन्ध लगाउने दुबई विमानस्थलको चेतावनी
1604368505600

नेपालबाट जाने यात्रुको कोरोना परीक्षणमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमलाई दुबईको विमानस्थल प्रशासनले उडान नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । कोरोना परीक्षणका नक्कली रिपोर्ट बोकेका यात्रु ओसारेको भन्दै हङकङ विमानस्थलले पनि निगमलाई दुईपटक प्रतिबन्ध लगाइसकेको छ । हङकङले लगाएको प्रतिबन्ध बुधबारबाट मात्रै खुल्दै छ ।

निगमले गरेको पहिलो उडानमा ५ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङले १५ दिन प्रतिबन्ध लगाएको थियो । त्यस्तै, दोस्रोपटक पुनः ७ जना यात्रुमा पोजेटिभ देखिएपछि मंगलबारसम्मका लागि दोस्रो प्रतिबन्ध लगाएको थियो । जसका कारण निगमले हङकङ उडानमा मात्रै २७ करोडभन्दा धेरै आम्दानी गुमाइसकेको छ ।

केही दिनअगाडि दुबईले पनि प्रतिबन्ध लगाउने चेतावनीसहितको पत्र निगमलाई पठाएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । ‘ल्याबहरूले नेगेटिभ रिपोर्ट दिएपछि सोहीअनुसार यात्रुहरू लैजाने गरेका छौँ, त्यहाँ गएर परीक्षण गर्दा केहीको पोजेटिभ देखिएपछि निगमलाई समस्या भएको छ,’ पौडेलले भने ।

निगमले दुबईमा सातामा सातवटै उडान गरिरहेको छ । यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो । ‘हङकङको बल्ल बुधबारबाट फुकुवा हँुदै छ, फेरि पनि रिपोर्ट पोजेटिभ देखियो भने निगमलाई समस्या हुन्छ, हामीले ल्याबको रिपोर्टलाई विश्वास गर्नैपर्‍यो,’ पौडेलले भने ।

अक्टोबर ४ मा हङकङले नेपाल एयरलाइन्सलाई उडान गर्न प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध १७ अक्टोबरसम्म जारी गरेको थियो । १७ अक्टोबरमा प्रतिबन्ध फुकुवा भएसँगै पुनः निगमले २ वटा काठमाडौं–हङकङ उडान गरेको थियो ।  तर, फेरि हङकङले निगमबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै २० अक्टोबरबाट उडानमा प्रतिबन्ध जारी राखेको छ ।

उक्त प्रतिबन्ध नोभेम्बर ३ सम्म रहेको छ । अब बुधबारबाट पुनः उडान गर्न लागेको पौडेलले जानकारी दिए । ल्याबले नै रिपोर्ट बिगारेर दिए कि भन्ने आशंका उत्पन्न भएको समेत उनको भनाइ छ । नयाँ पत्रीका बाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology