धौवादी फलाम खानी : भदौमा विज्ञ समुहको रिपोर्ट आए पछि मात्रै उत्खन्नको टुङ्गो लाग्ने

NAWALPUR TIMES

धौवादी फलाम खानी : भदौमा विज्ञ समुहको रिपोर्ट आए पछि मात्रै उत्खन्नको टुङ्गो लाग्ने
11

नारायण शर्मा/कावासोती ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित धौवादी फलाम खानीबाट निकाल्ने भनिएको फलाम गुणस्तरीय होला ? यो फलामले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ला ? विज्ञ समूहको अन्तिम रिपोर्ट भदौ पहिलो साता आउने भएको छ ।

फलाम खानीका बारेमा अन्तर्राष्ट्रिय परामर्शदातासहित तीन कम्पनीले अन्तिम सम्भाव्यता अध्ययन गरिरहेका छन् । यो कामको अन्तिम रिपोर्ट भदौ पहिलो सातासम्म आउने धौवादी फलामखानीका निर्देशक दिलिप झाले बताए । उनका अनुसार अस्ट्रियामा प्रधान कार्यालय रहेको एसआरके माइनिङ, भारतीय कम्पनी दस्तुर र नेपाली कम्पनी जेड कन्सल्टयान्टले फलामखानीको विस्तृत सम्भाव्यता अध्ययनको अन्तिम रिपोर्ट बुझाउने छन् । सो रिपोर्टका आधारमा खानीबाट निकाल्न सकिने फलामको गुणस्तर थाहा हुन्छ । सो रिपोर्टकै आधारमा खानीबाट उत्खनन् गर्ने वा यत्तिकै बाँकी काम बन्द गर्ने भन्ने निर्णय पनि लाग्ने झा बताउँछन् ।

रिपोर्टका आधारमा अन्य निर्णय लिइने झा बताउँछन् । खानीबाट दैनिक १५ सय टन फलाम निकाल्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘अब भने अन्तिम रिपोर्ट आइसकेपछि मात्रै अन्य काम अघि बढ्ने हो’ उनले भने । रड (डण्डी) बनाउन आवश्यक पर्ने ब्लेड यहींको फलामबाट उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको थियो । नेपालमा रहेका करिब तीन दर्जन डण्डी उद्योगले हाल भारतबाट ब्लेड ल्याएर यहाँ उत्पादन गरिरहेका छन् ।

हाल भारतबाट ल्याइने ब्लेडको गुणस्तरसँग यहाँको फलाम गुणस्तर तुलना गरी परीक्षण गरेपछि अन्य काम अघि बढ्ने भएको हो । भारतबाट आयात हुने ब्लेडको गुणस्तरसँग मिल्दोजुल्दो भए कारखाना नाफामा संचालन हुनसक्छ भन्ने आँकलन छ । ‘रिपोर्ट आइसकेपछि धौवादी फलामखानीको अरु काम अघि बढाउन मिल्ने (कारखाना सञ्चालन गर्ने वा नगर्ने) वा खानीमा बाँकी काम बन्द गर्ने भन्ने निधो हुन्छ’ झाले भने ‘सकारात्मक रिपोर्ट आएमा उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयको टिम बसेर अन्य काम अघि बढ्ने छ ।’

फलाम निकालेर भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएमा योजना आयोगले राष्ट्रिय प्राथामिकताको उद्योगमा राख्न सक्ने उनले बताए । हाल यहाँ फलाम मिसिएको करिब १० किलोमिटर लामो धौवादी पहाड छ । खानी तथा भूगर्भ विभागका विज्ञहरुले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा त्यहाँ ड्रिलिङ गरेर नमुना संकलन गरी परीक्षण गर्दा फलामखानी रहेको यकीन भएको हो । संकलित नमुना चीन र भारतका विभिन्न प्रयोगशालामा पठाउँदा त्यहाँको पहाडमा फलाम रहेको पुष्टि गरिएको थियो । त्यसैका आधारमा उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलामखानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको हो ।

धौवादी फलामखानी कम्पनी लिमिटेडमा स्थानीय जनप्रतिनिधिको प्रतिनित्व नगराइएका कारण काममा ढिलाई भएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको गुनासो छ । ‘स्थानीयको प्रतिनिधित्व हुने हो भने जवाफदेहिता बढ्छ, चासो बढ्ने भएकाले कामले गति लिन्छ’ उनले भनिन् । तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले स्थलगत अध्ययनका लागि फलामखानीसम्म जाने पक्की सडक निर्माणका लागि ४ वर्षअघि बजेट विनियोजन भएर काम अघि बढेको छ ।

झ्यालबासदेखि उत्तरमा रहेको फलामखानीसम्म जाने कच्ची सडक निर्माणाधीन छ । महेन्द्रराजमार्गको डण्डा बजारबाट १७ किलोमिटर उत्तरमा धौवादी फालमखानी छ । झ्यालबासबाट फलामखानीसम्म जाने ५ किलोमिटर सडक निर्माणको काम कछुवा गतिमा भइरहेको छ । नेपालका निजी क्षेत्रका खनिजसम्बन्धी काम गर्ने व्यवसायीले त्यहाँ उच्च गुणस्तरको फलाम नभएको भन्दै रुची देखाएका छैनन् । फलामखानीको खनिज परीक्षणको रिपोर्ट हेरेका निजी क्षेत्रका व्यवसायीले चासो दिन छोडका हुन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology