धौबादी फलाम खानीको ड्रिलिङ अन्तिम चरणमा

NAWALPUR TIMES

धौबादी फलाम खानीको ड्रिलिङ अन्तिम चरणमा
1623644235263

कोभिड महामारीकै बीच पुर्वी नवलपरासी स्थित धौबादी फलाम खानीमा ड्रिलिङ (प्वाल पार्ने) कार्य धमाधम अघि बढिरहेको छ । फलाम भण्डारणको मात्रा  यकिन गर्न धौबादीमा ३ वटा र पोखरेमा २ वटा ड्रिलिङ क्षेत्र तय गरिएको छ । तोकिएका पाँच क्षेत्रमध्ये एउटामा ड्रिलिङ सम्पन्न भइसकेको, दुईवटाको ड्रिलिङ अन्तिम चरणमा पुगेको र दुईवटाको काम हालै सुरु गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै खानी क्षेत्र र केन्द्रीय कार्यालय काठमाडौंमा कर्मचारीहरूले काम गरिरहेको धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले बताए । ‘अहिले हाम्रो मुख्य ध्यान भण्डारणको यकिन गर्नु, विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्नु हो,’ उनले भने, ‘यो सबै काम एकैपटक भइरहेको छ । खानी क्षेत्रमा ड्रिलिङको कार्य अन्तिम चरणमा पुगेको छ, केन्द्रीय कार्यालयबाट डिएफएस र डिपिआर गर्ने कम्पनी छनोटको कार्य भइरहेको छ ।’

कति सकियो ड्रिलिङको काम ?
धौबादी फलाम खानीको २५ वर्ग किमि क्षेत्रमा भूभौतिक सर्भे (इआरटी सर्भे) तथा ३ सय मिटर च्यानल स्याम्प्लिङ कार्य सम्पन्न भएको छ । अहिले भण्डारणको मात्रा यकिन गर्न ड्रिलिङ कार्य भइरहेको छ । धौबादीमा रहेको २ सय ४० मिटर लामो क्षेत्रमा २ सय २३ मिटर लामो ड्रिलिङ गरिएको छ । धौबादीकै २ सय ४५ मिटर लम्बाइको क्षेत्रमा ७२ मिटर ड्रिलिङ सकिएको छ भने २ सय १५ मिटर लामो ड्रिलिङ क्षेत्रको काम भर्खर सुरु गरिएको छ ।

पोखरे क्षेत्रमा रहेका दुईमध्ये एउटा ड्रिलिङ क्षेत्रको काम सम्पन्न भइसकेको छ । ३ सय मिटर लामो उक्त ड्रिलिङ क्षेत्रमा २ सय ६८.८ मिटर लामो ड्रिल गरेपछि फलामको मात्रा यकिन भइसकेको छ । पोखरेकै अर्को ३ सय मिटर लामो ड्रिलिङ क्षेत्रमा पनि भर्खर काम सुरु गरिएको छ । त्यस्तै, खानीसम्म पुग्ने पहुँचमार्ग निर्माणको काम पनि धमाधम भइरहेको उनले जानकारी दिए । हालसम्म सडक निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको उनले बताए ।

भण्डारण यकिन गर्न नमुना परीक्षण हुँदै 
धौबादी फलाम खानीबाट संकलित नमुना धाउहरूको परीक्षण गर्न ०७५ मै चीनमा पठाइएको थियो । चीनले नमुनाहरूको प्रशोधन परीक्षण गरी धौबादीका धाउमा ६० प्रतिशतसम्म फलाम रहेको प्रतिवेदन दिएको छ । धौबादीमा औसत ३० प्रतिशत फलाम रहेको प्रतिवेदनले देखाएको छ ।

अहिले ड्रिलिङ गरिएका क्षेत्रबाट संकलित २ सय ८० वटा स्याम्पलको पुनः परीक्षण गर्ने कार्य भइरहेको सिइओ चन्दले बताए । यस परीक्षणबाट फलामको मात्रा र भण्डारणको यकिन हुने उनले जानकारी दिए । ‘अहिलेको परीक्षण नेपालमै भइरहेको छ, खानी विभागको ल्याबमा काम भइरहेको छ,’ उनले भने, ‘ड्रिलिङ गरी निकालिएका यी नमुनाको परीक्षणबाट भण्डारणको मात्रा यकिन हुन्छ ।’

डिपिआरका लागि ११ कम्पनीको आवेदन
कम्पनीले धौबादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसउपर ११ वटा आवेदन परेका छन् । अहिले इच्छुक कम्पनीको क्षमता तथा अनुभवलगायत अध्ययन गर्ने काम भइरहेको सिइओ चन्दले बताए । ‘जतिसक्दो छिटो योग्य कम्पनीहरू छनोट गरेर उनीहरूबाट आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछौँ,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र व्यावसायिक रूपमा उत्पादन नै थाल्ने योजना र लक्ष्यसहित काम गरिरहेका छौँ ।’

१० अर्बको कम्पनी, धाउ उत्पादन गर्ने लक्ष्य
धौबादीको फलाम खानीबाट फलामको व्यावसायिक उत्पादन सुरु गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा धौबादी फलाम कम्पनी लिमिटेड स्थापना गरी कार्यारम्भ गरिएको छ । कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व सरकारको र ४५ प्रतिशत सेयर स्वामित्व निजी क्षेत्रको रहनेछ ।

हाल १० अर्बको अधिकृत पुँजी भएको यस कम्पनीको चुक्ता पँुजी ४ अर्बको रहेको छ । कम्पनीलाई अर्थ मन्त्रालयले सेयरअनुसार लगानी रकम दिइरहेको छ । आगामी आर्थिक वर्षको अर्थ मन्त्रालयले २८ करोड रुपैयाँ बजेट दिने भएको छ । कम्पनीले फलामको धाउ उत्पादन तथा प्रशोधन गर्ने लक्ष्य लिएको छ । नेपालमा वार्षिक १ खर्ब २० अर्ब रुपैयाँ हाराहारीको फलाम र फलामजन्य सामग्री आयात हुँदै आएको छ । खानी सञ्चालन गरेर आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।-यो खबर आजको नयाँ पत्रीका दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology