दोस्रो चौमासिकमा जूमको आम्दानी दोब्बर, प्रयोगकर्ता ४५८ प्रतिशतले बढे

NAWALPUR TIMES

दोस्रो चौमासिकमा जूमको आम्दानी दोब्बर, प्रयोगकर्ता ४५८ प्रतिशतले बढे
1598940591.zoom

काठमाडौं। भिडिओ कन्फ्रेन्सका लागि लोकप्रिय एप जूमले वर्षको दोस्रो चौमासिकमा आफ्नो आम्दानी दोब्बरले बढाएको छ। कोरोना भाइरस नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकमा गरिएको लकडाउनका कारण जूमको आम्दानी आकासिएको हो।

दोस्रो चौमासिकको अन्त्यमा जूमले ६६ करोड ३५ लाख डलर अर्थात् करिब ७८ अर्ब ९५ करोड रूपैयाँ आम्दानी गरेको छ, जुन विश्लेषकहरूले आंकलन गरेभन्दा बढी हो। पहिलो चौमासमा ३५ करोड ५० लाख डलर (करिब ४२ अर्ब २४ करोड रूपैयाँ) रहेको जूमको आम्दानी दोस्रो चौमासमा ५० करोड पाँच लाख डलर पुग्ने आंकलन गरिएको थियो।

यस अवधिमा जूमको मुनाफा १८ करोड ६० लाख डलर (करिब २२ अर्ब १३ करोड रूपैयाँ) पुगेको छ। अघिल्लो वर्ष (२०१९) को सोही अवधिको तुलनामा जूमको प्रयोगकर्ता ४५८ प्रतिशतले बढेको जनाइएको छ।

सोमबार जूमको सेयर मूल्य हालसम्मकै उच्च ३२५.१० डलर कायम भएको थियो। कम्पनीले यो वर्ष वार्षिक आम्दानी ३० प्रतिशतले वृद्धि गरेर दुई अर्ब ३७ करोडदेखि दुई अर्ब ३९ करोड डलरसम्म पुर्‍याउने देखिएको छ। जबकि, यसअघि वार्षिक आम्दानी एक अर्ब ७८ करोड डलरदेखि एक अर्ब ८० करोड डलरको बीचमा हुने प्रक्षेपण गरिएको थियो।

 

जूमको यो सफलताको कडी उच्च बजेटका व्यावसायिक ग्राहकलाई सशुल्क प्रयोगकर्ताको रूपमा जोड्न सक्नु हो, जो यसअघि निःशुल्क सेवा प्रयोग गरिरहेका थिए।

 

कोरोना महामारीका कारण अधिकांश मुलुकमा लकडाउन लागू भएयता जूमका प्रतिद्वन्द्वीहरू सिस्को वेबेक्स र माइक्रोसफ्ट टीमले पनि आफ्नो भिडिओ कन्फ्रेन्सिङ प्लाटफर्मको प्रयोग बढेको बताएका छन्।

 

पछिल्लो हप्ता अमेरिकाको अधिकांश क्षेत्रका विद्यालयहरूमा भर्चुअल माध्यमबाट कक्षा शुरू भएपछि जूमको लोकप्रियता झन् बढ्दा कम्पनीको पूर्वाधारलाई लिएर तनाव सिर्जना भएको बताइएको छ।

 

जूम एपमा जोडिने प्रयोगकर्ताको सुरक्षा र मिटिङहरूमा ह्याकरबाट हुने अवरोधलाई लिएर पनि यसको प्रतिष्ठामाथि प्रश्न उठ्दै आएको छ।

 

जूमले चीनसँगको सम्बन्धलाई लिएर राजनीतिक छानबिनको सामना पनि गरिसकेको छ, जहाँ उसका ७०० भन्दा बढी कर्मचारी कार्यरत छन्। जसमा अधिकांश ‘प्रडक्ट डेभ्लपमेन्ट टीम’ का कर्मचारी छन्। यसै कारण जूम सरकारी प्रयोगका लागि उपयुक्त नभएको चेतावनीसमेत दिइएको छ।

 

बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology