देशैभर आज माघे संक्रान्ती पर्व मनाईदै

NAWALPUR TIMES

देशैभर आज माघे संक्रान्ती पर्व मनाईदै
1547522486devghat

देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तर, यस वर्ष कोरोना महामारीका कारण धेरै ठाउँका मेला तथा कार्यक्रमहरु स्थगित गरिएका छन्।

तराईवासीले माघ १ लाई लहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ। माघे संक्रन्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी, सखरखण्ड आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ। जसमा स्वस्थानी सुन्ने सुनाउने गरिन्छ।-फाईल तस्बिर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology