देवचुली ९ लाई पुर्ण सरसफाई वडा घाेषणा गरिँदै

NAWALPUR TIMES

देवचुली ९ लाई पुर्ण सरसफाई वडा घाेषणा गरिँदै
received 1111829095901986 scaled

देवचुली-
देवचुली नगरपालिका वडा नं ९ लाई पूर्ण सरसफाई वडा घोषणा गरिने भएको छ । घोषणा पूर्व आइतबार देवचुली वडा नं ९ को आयोजना र विशालटार खानेपानी तथा सरसफाई संस्था, घुमाउरी सामुदायिक वन उपभोक्ता समूह, जन जागृत युवा क्लबको सह–आयोजना र नापावास परियोजना नेपालको सहयोगमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा देवचुली ९ को वडा कार्यालय देखि विशालटार खानेपानी क्षेत्र हुँदै वडाका हरेक टोलमा सरसफाई गरि सम्पन्न भएको हो ।

देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुको अध्यक्षता रहेको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष सारुले देवचुली ९ लाई पौष मसान्त सम्ममा पूर्ण सरसफाई वडा घोषणा गरिने बताउँदै यस कार्यलाई सफल पार्न सम्पूर्ण वडाबासीलाई सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष सारुले वडालाई पूर्ण रुपमा सरसफाई वडा घोषणा गर्न वडाले ६ वटा सूचक पुरा गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सारुले सम्पूर्ण वडाबासीलाई फोहोरको व्यवस्थापन सकभर आँफै गर्नुपर्ने बताउँदै सरसफाईमा उत्कृष्ट हुने टोललाई सम्मान गरिने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले वडालाई पूर्ण रुपमा सरसफाई घोषणा गर्न वडाबासीले हातेमालो गरि काम गर्नुपर्ने बताएका थिए । उनीहरुले विभिन्न समिति गठन गरि बालबालिका, जेष्ठ नागरिक, युवाहरुलाई सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य खेमलाल नेपाली, वडा सदस्य राम प्रसाद पन्त, टेक बहादुर गाहा, रिल कुमारी तामाङ, विशालटार खानेपानी सरसफाई उपभोक्ता समुहका सचिव खगराज कंडेल लगायतले अभियान सँगसँगै फोहोरलाई आ–आफ्नो घरमा बोरामा व्यवस्थापन गर्नुपर्ने, सकेसम्म फोहोरलाई सडक पेटीमा नजलाउने, स–सानो टुक्रा कागज अथवा प्लाष्टिक जथाभावी फाल्नेलाई कारवाही गर्र्ने नियम समेत बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, अस्थायी प्रहरी पोष्ट दलदलेका सुरक्षाकर्मी, वडावासी लगायतको उपस्थिती रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology