देवचुली नगरपालिकाद्वारा एक हजार दुई सय विद्यार्थीलाई छात्रवृति प्रदान

NAWALPUR TIMES

देवचुली नगरपालिकाद्वारा एक हजार दुई सय विद्यार्थीलाई छात्रवृति प्रदान
IMG 20220513 100121 scaled 1

देवचुली । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले एक हजार दुई सय विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति वितरण गरिएको हो ।

नगरपालिकाले टुहुरा, वैदेशिक रोजगारीमा आमा वा बुबा गुमाएका, सीमान्तकृत र अति विपन्न विद्यार्थीलाई छात्रवृति वितरण गरेको हो । एक हजार दुई सय विद्यार्थीलाई जनही रु.४ हजारका दरले छात्रवृति प्रदान गरिएको देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा छात्रवृति प्रदानका लागि रु. ४५ लाख विनियोजन गरिएको थियो । नाम संकलका क्रममा छात्रवृति प्रदान गर्नुपर्ने आवश्यकता रहेका विद्यार्थीको संख्या थपिएपछि थप स्रोतको व्यवस्था गरि एक हजार दुई सय विद्यार्थीलाई रु. ४८ लाख बराबरको छात्रवृति प्रदान गरिएको हो ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयमा छात्रवृतिको रकम पठाएर अध्ययनरत विद्यालयबाट छात्रवृति प्राप्त गर्ने विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्रीहरू पोशाक, व्याग, झोला, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई अंग्रेजी माध्यमका किताब लगायत आवश्यकता अनुसारका सामाग्री प्रदान गरिएको शाखा प्रमुख शर्माले बताउनुभयो । छात्रवृतिका लागि आवश्यक कार्यविधि निर्माण गरि सोही आधारमा विद्यार्थी छनोट सहित छात्रवृति प्रदान गरिएको शिक्षा शाखा प्रमुख शर्माले बताउनुभयो । ‘छात्रवृतिको उच्चतम् प्रयोग होस र आवश्यकता हुनेलाई सहयोग पुगोस् भनेर कार्यविधि निर्माण गरि सोही अनुसार विद्यार्थी छनौट गरि वितरण गरेका छौं ’ शाखा प्रमुख शर्माले भन्नुभयो ।

नगरपालिका भित्र कोही पनि विद्यार्थी अध्ययनबाट बञ्चित नहुन भनेर शैक्षिक छात्रवृति वितरणको योजना बनाएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । सामान्य खर्चको अभावमा अध्ययनमा समस्या झेलिरहेकाहरूलाई अध्ययनलाई निरन्तरता दिनका लागि प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा छात्रवृतिको लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ‘कतिपय परिवारका विद्यार्थी सानो खर्चको अभावमा विद्यालय जान नसक्ने पनि हुन्छन्, शैक्षिक सामाग्रीको अभावमा समस्या झेलिरहेका हुन्छन्, त्यस्ता विद्यार्थीलाई सहयोग सहित विद्यालय जान उत्प्रेरणा गर्नका लागि समेत छात्रवृति प्रदान गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘ हाम्रो मान्यता विद्यालय बाहिर कोही बालबालिका नरहुन र सबैले शिक्षालाई निरन्तरता दिउन भन्ने नै हो ।’ टुहुरा, वैदेशिक रोजगारीमा आमा वा बुबा गुमाएका, सीमान्तकृत र अति विपन्न परिवारका विद्यार्थीहरू अध्ययनबाट वञ्चित नहुन भन्ने नगरपालिकाको सोच रहेको र आगामी दिनमा समेत आवश्यकता आधारमा छात्रवृति प्रदानगर्ने कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology