देब र अर्जुनको शतकमा नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

NAWALPUR TIMES

देब र अर्जुनको शतकमा नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य
Capture1677298751

कावासोती  । कप्तान देब खनाल र अर्जुन कुमालले शतक प्रहार गरेपछि नेपालले आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगितामा शनिबार कुवेतलाई जितका लागि ३४४ रनको लक्ष्य पेस गरेको छ ।

देबले अविजित १२५ तथा अर्जुनले १०८ रन बनाएपछि युनाइटेड अरब इमिरेट्स (यूएई)को अजमानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३४३ रन बनाएको हो ।

ओपनर अर्जुन र देबले तेस्रो विकेटका लागि १७० रनको साझेदारी गरेका थिए । त्यसअघि अर्जुनले अर्का ओपनर दीपक बोहरासँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । दीपकले १३ रन जोडे । अर्जुनले ११२ बलमा १२ चौका प्रहार गरे । देबले ११७ बलमा ९ चौका र तीन छक्का प्रहार गरेका थिए ।

देबले विशालविक्रम केसीसँग चौथो विकेटका लागि ४८ रनको साझेदारी गरे । सिंगापुरविरुद्ध अविजित ६३ रन बनाएका विशालविक्रम केसीले २३ रन बनाए । सिंगापुरविरुद्ध ७८ रन बनाएका आकाश त्रिपाठी भने दुई रन बनाएर रनआउट भए ।

त्यसपछि देबले दीपक बोहरासँग पाँचौ विकेटका लागि २४ रनको साझेदारी गरे । त्यस्तै कप्तान देबले दीपकप्रसाद डुम्रेसँग छैटौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । दीपक बोहराले १९ रन बनाए भने दीपकप्रसाद २० रनमा अविजित रहे ।

कुवेतका अर्शसहिल काजमी र हेनरी थोमसले समान दुई विकेट लिए भने हैबर अलील र जय महेशकुमार मेहताले एक एक विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology