देउरालीका पाका र युवापुस्ता मिलेर जोगाउदैँ मारुनी

NAWALPUR TIMES

देउरालीका पाका र युवापुस्ता मिलेर जोगाउदैँ मारुनी
1702891138455

सन्जय भट्टराई, कावासोती । मारुनी नाँचका अगुवा बुलिङ्गटार–४ का मनबिर पुलामी उमेरले ५६ वर्ष कटि सके तर उनको मारुनी नाच्ने र गाउने मोह भने युवा पुस्ताकै जस्तो छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुलामी  पुग्छन् ।

आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँदै पुलामीले गाउँमा रहेका युवाहरुलाई पनि आफू सँगै लिएर हिडने गरेको बताए । गाउँमा उनको अगुवाईमा मारुनी नाच समूह गठन गरिएको छ । गाउँमा विभिन्न चाडपर्व तथा पारिवारिक हर्ष बढाइमा उनकै नेतृत्वको समुहले मारुनी नाँचलाई निरन्तरता दिदैँ आएको छ ।

पछिल्लो समय युवा पुस्ता अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ छोडेर बाहिर रहेको अवस्थामा नवलपुरको बुलिङ्गटार –४ देउरालीका पाका पुस्ता भने मगर समुदायमा परापुर्व काल देखि चल्दै आएको मारुनी नाँचको संरक्षणमा युवा सहितको समुह बनाएर जुटेका हुन । गाउँमा मारुनी नाँच देखाउदा ७० देखि ८० जना सम्मको सहभागीता रहने अध्यक्ष पुलामीले बताए । विगतका वर्षहरुमा मारुनी नाँचमा युवाको सहभागीता निकै कम हुने भएको पनि अहिले आएर मारुनी देखाउने समुहमा युवापुस्ताको बाक्लो सहभागीता हुने गरेको उनले बताए । “पोहोर पोहोर ७०÷८० जनामा मुस्किलले १५÷२० जना युवा हुन्थे अहिले बिस्तारै यो संख्या बढेको छ, अहिले आधाआधी संख्यामा युवा पुस्ता सहभागी हुन्छ्न”, उनले भने । आफुले १८ वर्षको उमेर देखि मारुनी नाच्न सिकेका पुलामीले पुराना पुस्ताको सहयोगमा युवा पुस्तालाई सिकाउने गरेका छ्न ।

देउरालीको यो मारुनी नाँच समूह आजकल गाउँमा मात्रै छिमेकी गाउँ तथा नवलपुरको पारी रहेको तनहुँ लगाएका विभिन्न गाउँहरुमा मारुनी नाँच्न जाने गरेका छन । देउराली गाउँ मात्रै नभएर अहिले अर्खला लगाएतका गाउँहरुमा पनि समूह बनाएर मारुनी संरक्षणमा पाका र युवा पुस्ता जुटने गरेका बुलिङ्गटार–४ का वडा अध्यक्ष मिनबहादुर आलेले बताए ।

मारुनी नाच दशैँ तिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तीजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दशैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । देउरालीका मगर समुदायले दशैको कालरात्री देखि देवी देवताको पूजा गरेर मारुनी नाँच्न सुरु गर्ने गरेको मारुनी नाँच समूहका अध्यक्ष पुलामीले बताए । उनका अनुसार मारुनीका गीतमा कृष्ण चरित्रको कथालाई गीति लयमा प्रस्तुत गर्ने गरिन्छ । बडा दर्शैको अष्टमीको कालरात्री सुरु भएर नवमी, दशैँको टीका र टिकाको भोलिपल्ट सम्म नाँच देखाउने गरिन्छ । लगत्तै तिहारको समयमा तिहारे औसीँको दिनबाट फेरि मारुनी नाँच देखाउन सुरु गरिन्छ । औसीँको दिन भरि गाउँका घर घरमा गएर मारुनी नाँच देखाईने र घरबेटीले कार्तिक दान दिने उनले बताए । मारुनी समुहलाई कार्तिके दान दिए रोगब्याधी नलाग्ने, ग्रहगोचर राम्रो हुने मगर समुदायमा जनविश्वास रहेको उनले बताए । तिहारको टिकाको भोलीपल्ट सम्म नाँच देखाउने र त्यसपछि गाउँबासीका घरमा हुने पूजाआजा, न्वारन, छेवर, विवाहा जस्ता हर्षबढाईका अवसरमा मारुनी देखाउन जाने गरेको उनले बताए ।

दशैँको कालरात्रीबाट सुरु गरिएको मारुनी नाँच मंसिर महिना सकिएसँगै अर्को वर्षको बडा दशैँको कालरात्री सम्मका लागी रोकिने पुलामी बताउछन । विशेष गरेर सरस्वतीको पूजा गरेर सुरु गरिने नाँच सरस्वतीको पूजा गरेरनै समापन गर्ने गरिन्छ ।

मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ ।

गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । महिलाको  भेषभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ ।

मारुनीसंगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology