दुर्लभ संयोग : एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी !

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ७ गते ११:०३
दुर्लभ संयोग : एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी !
IMG 20221221 WA0000

कावासोती (रासस) : पूर्वी र्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन् ।

नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए ।

‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,’ दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’

जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताए । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं,’ दाहालले भने ।

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरूमा सहकार्य र प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरूपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । १३ जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए ।

विद्यालयको १० कक्षामा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताएका छन् । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाउने गरेको बताएका छन् । उनीहरू जस्तै विद्यालयकै ८ कक्षामा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदीबहिनी हुन् । दिदीबहिनी त्यसै माथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरू र शिक्षकशिक्षिका समेत झुक्किने गरेको अनुभव उनीहरूसँग छ ।

जुम्ल्याहा सन्तान जन्मिँदा शुरूका केही वर्ष हुर्काउन बढाउन समस्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुशी महसूस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषण लगायतका कुराहरू आवश्यक मात्रामा पुर्‍याएर शुरूशुरूमा हुर्काउन गाह्रो भए पनि हुर्किंदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरूलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरूले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ,’ उनले भने ।

विक्रम संवत् २०४६ सालमा स्थापना भएको विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलवार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ ।

प्रकाशित : २०७९ पुष ७ गते ११:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI