त्रिविका स्थगित परीक्षाहरू फागुन १ गतेदेखि

NAWALPUR TIMES

त्रिविका स्थगित परीक्षाहरू फागुन १ गतेदेखि
TU

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुन: सञ्चालन गरिने भएको हो । यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ । परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कोड र विषयबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सचेत गराएको छ । अन्यथा परीक्षण नियन्त्रण कार्यालय जवाफदेही नहुने भन्दै परीक्षार्थीहरूलाई सचेत गराएको हो । यस्तै परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने सूचनामा उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, ‘यसै कार्यक्रमानुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई दोब्बर दस्तुरसहित २०७८ माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७८ माघ २५ गतेभित्र र प्राइभेट परीक्षार्थीहरूले २०७८ माघ २४ र २५ गतेका दिन आवश्यक प्रक्रिया पुर्‍याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाइसक्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ त्रिविले यसअघि कोरोना संक्रमण जोखिमका कारण परीक्षाहरू स्थगित गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology