तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति

NAWALPUR TIMES

तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति
FB IMG 16092846135591047

कावासोती । कावासोती नगरपालिकाले तमु ल्होसार पर्वको बिदा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तमु ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई प्रभावित पार्नेगरी त्यसको पूर्व सन्ध्यामा नगरपालिकाको शिक्षा शाखाले विद्यालय सन्चालन गर्न सूचना जारी गरेपछि महासंघले प्रेस बिज्ञप्ति मार्फत नगर शिक्षाको उक्त कदमको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।

पौष १५ गते गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका दिन गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई अनदेखा गरि नगर शिक्षाले उक्त दिन विद्यालय सन्चालन गर्न निर्देशन दिनु आफैंमा कानुनसम्मत र ब्यवहारिक नभएको भन्दै जनजाति महासंघले तत्काल आफ्नो निर्णय सच्याउँन नगर शिक्षा समिति सँग माग गरेको छ । साथै बिज्ञप्तिमा नगर शिक्षाले गरेको निर्णय तत्काल नसच्याए त्यसबाट उत्पन्न हुने परिणामको भागिदार नगर शिक्षा नै हुनुपर्ने चेतावनी समेत दिइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरका अध्यक्ष राम तामाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा नगरपालिकाको शिक्षा समितिले जनताको बलिदानीपूर्ण योगदानमा स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा पनि पन्चायती ब्यवस्था झल्किने हर्कत देखाएको भन्दै यस्तो हर्कतले सम्पूर्ण आदिवासी समुदायको भावनामा चोट पुर्याएको उल्लेख गरिएको छ ।

यसअघि कावासोती नगरपालिकाको शिक्षा शाखाले नगर शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकको निर्णय भन्दै मंगलबार अपरान्ह एक सूचना जारी गरि शनिबार बाहेकका सबै दिनमा विद्यालय सन्चालन गर्न नगरभित्रका सबै विद्यालयहरुलाई निर्देशन गरेपछि नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले बिज्ञप्ति मार्फत बिरोध जनाएको हो ।
नगर शिक्षा शाखाको सूचना प्रकाशित भएपछि कावासोती नगरपालिकाको नगर शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकले कानुनी, धार्मिक र व्यवहारिक पक्षको ख्यालै नगरी असहिष्णुता प्रस्तुत हुने खालको निर्णय गरेको भन्दै त्यसको चौतर्फी रुपमा आलोचना समेत भएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology