डेढगाउँ पुल निर्माण गर्न ताकेता

NAWALPUR TIMES

डेढगाउँ पुल निर्माण गर्न ताकेता
204173366 582152109464320 2035652332806419412 n

नवलपरासी पूर्व — कालीगण्डकी नदीमा आएको बाढीले भत्काएको डेढगाउँ पुल मर्मत गर्न सडक डिभिजन कार्यालयले ठेकेदारलाई ताकेता गरेको छ । ४ वर्षअघि ११ करोड रुपैयाँको लागतमा पक्की पुल निर्माणको काम सकेको रसुवा हिन्दुङ एन्ड ठोकर कन्स्ट्रक्सनलाई भत्किएको दुवै किनार मर्मत गर्न ताकेता गरेको हो ।

सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी नारायण पौडेलका अनुसार निर्माण सकेर अन्तिम किस्ता भुक्तानी नभइसकेका कारण यो अवधिमा पुल मर्मत गर्ने जिम्मेवारी ठेकेदार कम्पनीकै हुन्छ । सडक कार्यालयले बुधबारसम्मको समय सीमा दिएर तत्काल मर्मतको काम थाल्न निर्देशन दिएको उनले जानकारी दिए । ‘ठेकेदार कम्पनीलाई २ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ ।
त्यसैबाट उसले सडकमा यातायात सुचारु हुन सक्ने गरी काम अघि बढाउन आवश्यक छ,’ पौडेलले भने, ‘उसले काममा ढिलाइ गरे अन्य ठेकेदारमार्फत काम सम्पन्न गराउने सोचाइमा छौं ।’ बुधबारसम्म पुलको दुवैतर्फ बगाएको सडकमा तटबन्धनको काम गर्न निर्देशन दिएको पौडेलले सुनाए । पुलको दुवै किनार बाढीले बगाएका कारण त्यहाँ आउजाउ बन्द भएको छ ।

दुर्गममा रहेको बौदीकालिका बासिन्दा त्यही पुल हुँदै किनमेलका लागि दिनहुँ तनहुँ आउजाउ गर्नुपर्ने बाध्यता छ । आफ्नै जिल्लाको कावासोती बजार आउजाउ गर्ने सडक ठाउँठाउँमा भत्किएका कारण उनीहरू अप्ठेरोमा छन् । पुलको दुवै किनारमा तटबन्धन बनाएर यातायात सुचारु गर्न सडक कार्यालयले ठेकेदार कम्पनीलाई पत्र पठाएको छ । ‘तत्काल गाडी सुचारु गराउन सक्ने बनाउन १५/२० लाखको कामले हुन्छ,’ सूचना अधिकारी पौडेलले भने ।

बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले पुलबाट आउजाउ हुन नसक्दा नाकाबन्दीमा परेकाले तत्काल पुलबाट यातायात सुचारु गर्न माग गरेको सुनाए । २ साताअघिको बाढीले पुललाई क्षतिग्रस्त बनाएको थियो । गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले मधेस र तनहुँ जान नपाएका कारण आफ्ना नागरिक उपचार पाउने सुविधावाट समेत वञ्चित भएको बताए । ‘न मधेस झर्न मिल्छ न तनहुँ जाने बाटो छ,’ उनले भने ‘गाउँपालिकाको बजेटले मर्मत गर्न नसकिने भएकाले सडक कार्यालयलाई गुहार मागेका छौं ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology