डुब्दै मधेस

NAWALPUR TIMES

डुब्दै मधेस
terai madhes DI8eMWLhcD

पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदा भन्छन्, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले सतहमा थपिँदो बालुवाका कारण खोला र बस्तीको उचाइ बराबर भएको छ।’ महुली पुलको पश्चिम घर भएका शिवलाल सदाय पनि १५ वर्षअघिसम्म खोलाको सतह यति अग्लो नभएको बताउँछन्।

‘अहिले बस्ती र खोला बराबर भइसक्यो,’ खोलामा बालुवा थुप्रिँदै जानुको कारणबारे उनी भन्छन्, ‘चुरियामाई (चुरे) मा लकडीपाती (रूख) र पाखन (ढुंगा) बेहिसाब निकाल्ने गरिएको परिणाम हो यो।’ चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल निकालिरहेपछि सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका खोलामा थुप्रिएर सतह उठ्दै गएको उनको भनाइ छ।

खाँडो खोलाको कथा पनि उस्तै छ। खाँडो खोला डेढ दशकअघिसम्म बस्तीभन्दा निकै गहिरो थियो। अहिले खोलाको सतह बस्तीभन्दा माथि उठेको छ। खोलाको उचाइ यसैगरी बढ्दै जाने हो भने वरपरका बस्तीलाई बाढीले निल्न अब धेरै समय लाग्दैन छैन। मधेसको डुबान, मरुभूमीकरणजस्ता समस्या समाधानका लागि भने खोलामा होइन मूल (चुरे) मै उपचार खोज्नुपर्ने विज्ञहरू बताउँछन्। ‘चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायत काम जसलाई हामी दोहन भन्छौं,’ राष्ट्रपति चुरे–तराई मधेस कार्यक्रमका पूर्वसदस्य डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘त्यो नरोकेसम्म तल (खोलामा) जति उपचार प्रबन्ध गरे पनि टिकाउ हुँदैन।’ अनियन्त्रित दोहनले उजाड बन्दै गएको चुरेलाई हरियाली बनाउनुपर्ने उनको सुझाव छ। चुरेक्षेत्रमा दोहन, उत्खन्नलाई रोक लगाउनुपर्ने उनको भनाइ छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology