डा गोविन्द केसीको ईच्छाविपरीत अनसनस्थलबाट कर्णाली प्रतिष्ठानमा लगियो

NAWALPUR TIMES

डा गोविन्द केसीको ईच्छाविपरीत अनसनस्थलबाट कर्णाली प्रतिष्ठानमा लगियो
IMG 20200914 150557

जुम्ला- जुम्लामा आमरण अनसनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीलाई अनसनस्थलबाट जरबजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

प्रहरीले डा केसीलाई अनसनस्थलबाट जबरजस्ती उठाएर प्रतिष्ठानमा लगेको उनका सहयोगी महेन्द्र कार्कीले जानकारी दिए।

डा केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा ६ दिनदेखि अनसन बसिरहेका छन्।

डा केसीको मागमा समर्थन गर्दै जुम्लामा दीप प्रज्वलन समेत गरिएको छ।

अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ।

डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव भने दिएका छन्। तर डा केसी आफू अस्पताल नजाने भन्दै अनसनस्थलमै बसिरहेका थिए।

बिहान भएको परीक्षणमा डा केसीलाई २४सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सुझाव दिएका थिए।

‘प्रतिष्ठानका चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरेर अस्पताल जान सुझाव दिएका छन्,’ कार्कीले भने, ‘तर, डा. केसी अस्पताल जान र स्लाइन लिन समेत मान्नु भएको छैन।’  यसैबीच केही समयअघि डा केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उनले बताए।

यी हुन् डा केसीका ६ बुँदे माग

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology