टी–२० विश्वकपमा अमेरिकाको क्यानाडामाथि ७ विकेटको जित

NAWALPUR TIMES

कावासोती । टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले शानदार शुरुआत गरेको छ । उद्घाटन खेलमा आइतबार बिहान क्यानाडामाथि ७ विकेटको जित हासिल गर्यो ।

डालासमा भएको खेलमा १९५ रनको चुनौती अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका लागि आरोन जोन्सले ४० बलमा अविजित रहँदै १० छक्काको मद्धतले ९४ रन बनाए ।तेस्रो विकेटका लागि जोन्ससँग मिलेर १३१ रनको साझेदारी गर्ने क्रममा आन्द्रेस गोसले ४६ बलमा ६५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५ विकेटको क्षतिमा १९४ रन बनायो । नवनीत धालिवालले ४४ बलमा ६१, निकोलस किर्टनले ३१ बलमा ५१ तथा श्रेयस मोभ्भाले १६ बलमा अविजित रहँदै ३२ रन बनाए ।

कमजोर बलिङ गरेको घरेलु टोलीका लागि अलि खान, हर्मित सिंह र कोरि एन्डरसनले समान १ विकेट लिए ।

समूह ए मा रहेका अमेरिका र क्यानाडाको समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पीएनजी, क्यानाडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् ।

इङल्याण्ड टी–२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी–२० विश्वकपको यो नवौं सिजन हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology