जेठमा पूरा हुने भनिएकोअट्ठाइस बिघा र हसौरा जोड्ने पुलको निर्माण नै थालिएन

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १ गते १४:५४
जेठमा पूरा हुने भनिएकोअट्ठाइस बिघा र हसौरा जोड्ने पुलको निर्माण नै थालिएन
pool

कावासोती । गत जेठ तेस्रो सातासम्म निर्माण सम्पन्न गर्ने भनेर लिखित प्रतिबद्धता जनाएका ठेकेदारले कावासोती नगरपालिकाको अट्ठाइस बिघा र हसौरा जोड्ने पक्की पुल निर्माणको काम सुरु नै गरेका छैनन् ।

२०७७ साल असार मसान्तमा निर्माणको काम सक्ने गरी पुलको ठेक्का लिएका एडभेन्चर कन्स्ट्रक्सनका सञ्चालक कमल भट्टले पुल निर्माण अलपत्र पारेर छोडेका छन् । उनले पुल निर्माण अलपत्र पारेर फरार रहेको समाचार  प्रकाशन भएपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयमा आएर जेठ २१ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने लिखित सहमतिमा हस्तक्षर गरेका थिए । हस्ताक्षर गरेको ५२ दिन बितिसक्दा पनि उनले पुल निर्माणको काम सुरु समेत गरेका छैनन् । हसौरा र अट्ठाइस बिघा क्षेत्र जोड्ने १ सय ४० मिटर लामो पुल निर्माणको ठेक्का लिएको ३ वर्ष पूरा भइसक्दा पनि काम सम्पन्न गरेका छैनन् । पुलको दुवै किनारका खम्बा ठड्याएर केही भाग ढलान समेत गरिसकिएको छ । पुलको पश्चिमतर्फका एक खण्डको काम नगरेर अलपत्र पारिएको छ ।

काम थालेर ठेकेदार बेपत्ता भएपछि कावासोतीका मेयर विष्णु भुसालले जिल्ला प्रशासनमा एक पत्र पठाएर ठेकेदार खोजी गरिदिन निर्देशक गरेका थिए । प्रशासनले सार्वजनिक सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर प्रशासन कार्यालयमै लिखित प्रतिबद्धता जनाएका ठेकेदारले सेटिङका लागि सामान ल्याएर फाले पनि काम नथालेको वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लोहनीले जानकारी दिए । ‘ढलान गर्ने केही सामान ल्याएर खोलाको क्षेउमा फालेको छ काम गरेको छैन,’ लोहनीले भने ‘अब बर्खामा त झन् के गर्ला र ?’

ठेकेदार भट्टले गत जेठ २१ गते काम सम्पन्न नगरे आफूलाई कालो सूचीमा राख्ने भनेर लेखिएको पत्रमा हस्ताक्षर गरेको वडा अध्यक्ष लोहनीले बताए । ‘पुल ढलान गर्ने सेटिङको काठ झारेको छ, काम गरेको छैन,’ लोहनीले भने, ‘त्यहाँ केरुंगे तर्न स्थानीयलाई ज्यानको बाजी लगाउन पर्ने जोखिम छ ।’

ठेकेदारले गत वैशाख ११ गते जिल्ला प्रशासनमा आफैं उपस्थित भएर जेठ २१ गतेभित्र पुल निर्माण सक्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेपछि सम्पर्कमै नआएको स्थानीयको भनाइ छ ।

प्रकाशित : २०८० साउन १ गते १४:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI