जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते

NAWALPUR TIMES

जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते
jeep 1

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology