चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा अढाई लाख बढि पर्यटक, २२ करोड राजस्व संकलन

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा अढाई लाख बढि पर्यटक, २२ करोड राजस्व संकलन
Jungle Safari

सन्जय भट्टराई, कावासोती । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा अढाई लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत २ लाख ७२ हजार ९ सय ४२ आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेश तिवारीले चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा २ लाख ७२ हजार ९ सय ४२ आन्तरिक तथा बाह्य पर्यटकले यहाँको अवलोकन भ्रमण गरेको बताए । पछिल्लो १० महिनामा निकुञ्ज भित्रिएका अढाईलाख बढी पर्यटकबाट २२ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरिएको उनले बताए ।

उनका अनुसार दस महिनाको अवधिमा १ लाख ६१ हजार ८ सय २७ नेपाली, सार्क मुलुकका २६ हजार ४ सय ६१ र ८४ हजार ६ सय ५४ अन्य मुलुकका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन ।

चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको तिवारीले बताए । तिवारीका अनुसार गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने निकुञ्जको अपेक्षा छ । “चितवन राष्ट्रिय निकुञ्जको वैशाखसम्मको पर्यटक आगमनको तथ्यांक हेर्दा अढाईलाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुनुहुन्छ । राजस्व आम्दानीको हिसाबले चितवन राष्ट्रिय निकुञ्जले दस महिनामा २२ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ,” उनले भने ।

निकुञ्जमा गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छ । यस्तै, घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका किराफट्यांग्रा यहाँ पाइन्छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology