चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट नयाँ मार्गको सुरुआत

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट नयाँ मार्गको सुरुआत
IMG 20230323 135533 scaled

कावासोती, चैत १०- 

चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ ।

निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुआत गरिएको जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिनुभयो ।

सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताउनुभयो ।

गैँडाकोट नगरपालिका–१७ को रु पाँच लाख सहयोग र होटल व्यवसायीहरुको रु १६ लाखको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो । निकुञ्जभित्र जङ्गल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिङ्गे गैँडा धेरै सङ्ख्यामा देख्न सकिने अध्यक्ष धितालले बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जङ्गल सफारीका क्रममा १४ एकसिङ्गे गैँडा फेला परेका थिए । धेरै मात्रामा एक एकसिङ्गे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पु¥याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जङ्गल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो । यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जङ्गल सफारी गराउँदै आएका थिए ।

नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जङ्गल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न । बिहीबार सुरु गरिएको जङ्गल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology