घुम्दैघुम्दै तनहुँ आउने टुरिष्ट उम्मेदवारलाई भन्नुपर्छ, कांग्रेस चोकमा राखेको मादल होइन: गगन थापा

NAWALPUR TIMES

घुम्दैघुम्दै तनहुँ आउने टुरिष्ट उम्मेदवारलाई भन्नुपर्छ, कांग्रेस चोकमा राखेको मादल होइन: गगन थापा
gagan 11676292403 scaled

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट केन्द्रीय सदस्यसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन्।

आज तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन्।

भट्टराईले पार्टीभित्रका नयाँ र पुराना नेताहरूलाई जोड्न सक्ने र गठबन्धन दलहरूलाई पनि साथसाथै लैजान सक्ने थापा बताउँछन्।

‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ- तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने,’ थापाले भने।

महामन्त्री थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए। गत मंसिरमा चुनाव जितेका तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा धन्यवाद दिन पनि भट्टराईलाई उपनिर्वाचनमा ‘सानदार मत’ ले जिताउनुपर्ने थापाको भनाइ थियो।

उनले ५ वर्षका लागि कांग्रेसलाई जिताएर पठाउन पनि आग्रह गरेका थिए। कांग्रेसले परिणाम दिने गरी काम गरेन भने अर्को चुनावमा मतदाताले दण्ड दिन सक्ने बताए।

‘तनहुँ १ मा परिस्थितिले अहिले उपनिर्वाचन भएको हो। मंसिर ४ मा यो क्षेत्र कांग्रेसले जितेको थियो,’ उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त हुन पुग्यो। यो क्षेत्र कसैका लागि प्रयोग गर्न खाली भएको होइन।’

कांग्रेसका उम्मेदवार भट्टराईलाई माओवादी, जसपा, एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनले पनि सहयोग गर्ने उनको भनाइ छ।

उनले गत मंसिरमा कांग्रेसलाई मत दिएर जिताउनेहरूले यसपालि भट्टराई पनि मत दिनुपर्ने बताए। ‘रामचन्द्र पौडेललाई मत हाल्नेले किन गोविन्दलाई नहाल्ने? कि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा रिसाउनुभयो?,’ उनले प्रश्न गरे।

केन्द्रमा गठबन्धन सरकार रहेको र गण्डकी प्रदेशमा पनि छिट्टै कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्ने थापाको भनाइ थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology