कावासोती ।ग्यास सिलिन्डरको माथिल्लो भागमा रहेको गोलाकार रिङसँग तीनवटा पाता जोडिएका हुन्छन् । तीमध्ये कुनै एक पातामा अंग्रेजी अक्षरहरू ए, बी, सी र डी तथा दुई अंकको संकेत चिह्न हुन्छ । यही संकेत चिह्नमा सिलिन्डरको आयु उल्लेख भएको हुन्छ । ‘ए’ले अंग्रेजी महिनाहरू जनवरी, फेब्रुअरी र मार्चलाई संकेत गर्छ । ‘बी’ले अप्रिल, मे र जुन, ‘सी’ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।
उदाहरणका लागि सिलिन्डरको पातामा ‘बी २३’ लेखिएको छ भने सिलिन्डरको आयु सन् २०२३ को जुन महिनासम्म मात्रै भएको जनाउँछ । यो मितिपछि सिलिन्डर बजारबाट फिर्ता गर्नुपर्ने र उद्योगमा हाइड्रोस्टेटिक टेस्ट गर्नुपर्ने गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले बताइन् ।
‘सिलिन्डरमा उल्लेख भएको मिति सकिएपछि मिति सकियो भन्ने हुँदैन,’ उनले भनिन्, ‘मिति सकिएको सिलिन्डरको गुणस्तर परीक्षण गर्दा पास भयो भने पुनः अर्को मिति राखेर बजारमा पठाइन्छ ।’ संकेत चिह्नमा लेखिएभन्दा बढी उमेरको सिलिन्डर बजारमा देखिएको खण्डमा उपभोक्ताले प्रयोग नगरी उजुरी दिनुपर्ने उनको भनाइ छ ।
सिलिन्डरको आयु २० वर्ष मात्रै
गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टका अनुसार नयाँ सिलिन्डरलाई ग्यास प्रयोगका लागि अनुमति दिएपछि १० वर्षसम्म परीक्षण गर्नुपर्दैन । ‘सिलिन्डर बजारमा जाँदा सुरुमा १० वर्षको मिति राखेर जाने गरेको छ,’ उनले भनिन्, ‘१० वर्षपछि हाइड्रोस्टेटिक टेस्ट गर्दा प्रयोगयोग्य देखिए थप पाँच वर्षका लागि अनुमति दिइन्छ ।’
यो मिति पनि सकिएपछि पुनः हाइड्रोस्टेटिक टेस्ट गर्दा प्रयोगयोग्य पाइए तीन–तीन वर्षमा परीक्षण गर्ने गरी बजारमा पठाइने गरेको विभागले जनाएको छ । २० वर्षपछि भने सिलिन्डरको आयु सकिने हुँदा बजारबाट संकलन गरी नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment