गैंडाकोट-बाढीले डाइभर्सन बगाएपछि बिहीबार बिहानैदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको गैंडाकोटमा अझैसम्म यातायात सुचारु हुन सकेको छैन ।
सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ गाडी गैँडाकोटको थुम्सी र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।
अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनःनिर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । सडकदेखि उत्तरतर्फको भागसमेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ ।
राजमार्ग फराकिलो पार्ने क्रममा गैँडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चारवटा डाइभर्सन बनाइएको थियो । अन्य डाइभर्सनमा भने बाढीले क्षति पुर्याएको छैन ।
प्रकाशित : २०७८ असार १७ गते १८:१९
Facebook Comment