गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

NAWALPUR TIMES

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ ।

मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजनल वन कार्यालय चितवनका डिभिजनल अधिकृत पदमराज नेपाल रहेका छन् ।

कार्यदललाई सो सम्बन्धमा १० दिनभित्र घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्ने, गैँडाको मृत्यु हुने गरी भएको लापरबाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने भए सोको यकिन रायसहित सुझाव पेस गर्ने कार्यविवरणसमेत दिइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology