कावासोती । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बुधबार साढे १० बजे तिर गुडिरहेको माइक्रोबसमाथि ढुंगा खसेको छ ।
ढुंगाले लागेर दुईजना यात्रु सामान्य घाइते भएका छन् । मंगलबार बिहान पनि यही सडक खण्डको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिक तीन नम्बर पुलमा ढुंगाले लागेर एउटा कारमा सामान्य क्षति भएको थियो ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार बुधबार काठमाडौंबाट भरतपुर आउँदै गरेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो । ढुंगाले लागेर माइक्रोबसको अगाडिको सिसा फुटेको र माइक्रोबसको यात्री नवलपुर देवचुली नगरपालिका–१३ बस्ने कल्पना परियारकी आठ वर्षकी छोरी कविता परियार र पाँच वर्षकी छोरी कञ्चन परियारको हातमा सामान्य चोट लागेको प्रशासन कार्यालयले जनाएको छ । पहिरोले सताउँदै आएको यो सडकमा ढुंगा खस्दा जोखिम बढेको छ ।
प्रकाशित : २०८१ भदौ ५ गते १३:४८
Facebook Comment