गायक दुर्गेश थापालाई बहिष्कार गर्ने लोक तथा दोहोरी प्रतिष्ठानको निर्णय

NAWALPUR TIMES

गायक दुर्गेश थापालाई बहिष्कार गर्ने लोक तथा दोहोरी प्रतिष्ठानको निर्णय
1627904004512

काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापालाई लोक तथा दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगति न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालका अनुसार अब आगामी दिनमा संस्थानका कुनै पनि गतिविधिमा दुर्गेशको सहभागिता हुने छैन, उनलाई संस्थानको तर्फबाट कुनै पनि प्रोत्साहन गरिने छैन। कमिटी बैठकले निर्णय गरे अनुसार दुर्गेशसँग संस्थानका सदस्यहरु कोहीले पनि सहकार्य गर्ने छैनन्।

दुर्गेशले १० दिन अगाडि मात्र आफ्नै शब्द, संगीत र स्वरमा ‘बिच्च बिच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए। गीत सार्वजनिक हुनुभन्दा अगाडि साउन ७ ध्यानाकर्षण पत्र काट्दै गीतमा प्रयोग भएको शब्द आपत्तिजनक रहेको भनि हटाउन अनुरोध गरिएको थियो।

‘हामीले कारवाही गरेको होइन, कारवाही गर्ने अधिकार हामीसँग छैन। संस्थाले सामाजिक मर्यादालाई ख्याल गरेर यो काम गरेको हो,’ हमालले भने, ‘संस्थानका सदस्य जसले दुर्गेशसँग सहकार्य गर्छ, उनीहरुलाई सोधपुछ गरिनेछ।’

कमिटीले दुर्गेश यदि सच्चिन चाहन्छन् र गीतको शब्द सच्चाएर आउँछन् भने बहिष्कार फिर्ता लिनेबारेमा पनि छलफल भएको हमालले बताए।‘तर यसका लागि उनले सार्वजनिक माफी माग्नुपर्छ,’ उनि भन्छन्, ‘हामीले पात्रलाई भन्दा पनि पात्रले गरेको जात्रालाई नियन्त्रण गर्न खोजेका हौँ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology