कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने छन् । विश्वासको मतका लागि तयारी गर्न पत्र आएकाले सोही अनुसार तयारी गरिएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जनाए । पाण्डे गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त पाण्डे भएका हुन् ।
पाण्डेले आज विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गण्डकीमा अहिले तीन सदस्यीय मन्त्रिपरिषद् रहेको छ । मन्त्रालय बाडफाँटको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन नसेको हो । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्मा सबैभन्दा ठूलो दलको रुपमा कांग्रेसको २७ सिट रहेको छ । यस्तै, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । गण्डकीमा एमालेको २२ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सिट रहेको छ ।
प्रकाशित : २०८० वैशाख २१ गते ९:४२
Facebook Comment