गगनको प्रस्ताव : २०४६ पछि उच्च ओहोदामा पुगेका सबैको सम्पति छानविन गरौं

NAWALPUR TIMES

कावासोती । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालको परिवर्तनपछि उच्च ओहोदामा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् ।

सोमबार नवलपुरमा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले जनता भ्रष्टाचारको कारणले नेताहरुसँग रिसाएको दाबी गरे ।

उनले भने, ‘भ्रष्टाचारको कारणले गर्दा नागरिक यो सिंगो नेता, नेतृत्व र पार्टीसँग रिसाएका छन् । कांग्रेसले पार्टीको कारणले एक ठाउँमा एक सुकाको पनि भ्रष्टाचार हुन दिनौं । यदि कसैले गर्छ भने कांग्रेसको जतिसुकै ठूलो मानिस होस्, भ्रष्टाचार गर्छ र अपराध गर्छ भने दण्डित हुने अवस्था हामी बनाउँछौं । म कांग्रेसको महामन्त्री मलाई सिंगो पार्टीले साथ दिँदा म भन्छु, कोही मान्छेले देशवासीको ढुकुटीमा जम्मा भएको पैसा ठग्छ भने प्रधानमन्त्री होस्, भूतपूर्व प्रधानमन्त्री होस्, कसैलाई नछाड्ने कानून बनाउँछौं भन्न सक्ने कि नसक्ने ?’

भ्रष्टाचार गरेर गैरकानूनी ढंगले आर्जन गरेको सम्पत्ति खोसेर कारबाही गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए ।

उनले भने, ‘२०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहोदामा मान्छेहरु पुगेका छन् । हामी सबै सांसद, मन्त्री, प्रधानमन्त्री भयौं । एउटा शक्तिशाली संयन्त्र बनाऔं, त्यसले सम्पत्ति छानबिन गरोस्, कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको छ भने जोसुकै होस्, त्यो मान्छेको सम्पत्ति खोसिनुपर्छ, दण्ड पनि पाउनुपर्छ । त्यसको नेतृत्व कांग्रेसले गर्छ भन्न कांग्रेसले सक्नुपर्छ ।’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology