क्रिकेट विश्वकप छनोटका खेल नेट टिभी एपमा निःशुल्क हेर्न पाइने

NAWALPUR TIMES

क्रिकेट विश्वकप छनोटका खेल नेट टिभी एपमा निःशुल्क हेर्न पाइने
Nepali Cricket Team

कावासोती । जिम्बावेमा आगामी असार ३ देखि सुरु हुने आइसिसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनल प्रालि प्राप्त गरेको छ।

स्टार इन्डिया प्रालिमार्फत् प्राप्त स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनलले एड प्याड प्रालिसँऊ विशेष मार्केटिङ र प्रसारण गर्न सम्झौता गरेको छ।

एडप्याडले यस प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ।

प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिनेछ। खेलहरू नेपाल भित्र मात्र हेर्न सकिनेछ।सबै खेलको प्रत्यक्ष प्रशारण नेपाली समयअनुसार मध्यान्ह १२: ३५ बजेदेखि सुरु हुनेछ ।

यसअघि वर्षको सुरुमा जोहरा र एड प्याडले यूटुबमा एसlसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ प्रदान गर्न साझेदारी गरेका थिए। जुन नेपालमा सबैभन्दा धेरै हेरिएको डिजिटल कार्यक्रम बनेको थियो। सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी दर्शक जोडिएका थिए।

नेपालका खेल डिजिटल माध्यममा उपलब्ध सक्षम गराउन सकेकोमा जोहराका एमडी आमिर अख्तरले खुसी व्यक्त गरेका छन्।

‘स्टार इन्डियासँग धेरै कुराकानी पछि अन्ततः अधिकार प्राप्त गर्न पाउँदा हामी उत्साहित छौं। हामी अब क्रिकेटको भोको राष्ट्रलाई प्रतियोगिताका सबै खेलहरू डिजिटल रूपमा उपलब्ध गराउन सक्षम भएकोमा गर्व गर्छौं । यो नयाँ सुरुवात मात्र हो र नेपाली दर्शकहरुले डिजिटल रूपमा उपलब्ध हुने धेरै टूर्नामेंटहरू विशेष गरी नेपाल समावेश हुने अपेक्षा गर्न सक्छौं। म आफैं एक पूर्वक्रिकेटरको हैसियतमा यस प्रतियोगिताको आकर्षण जानकार छु,’ उनले भने।

असार ३ देखि सुरु हुने प्रतियोगिताको नेपालको समूहमा आयोजक जिम्बावे तथा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्स छन्।

नेपालको खेल तालिका
जिम्बावेविरूद्ध, असार ३ – हरारे स्पोर्ट्स क्लब
अमेरिकाविरूद्ध, असार ५ – ताकासिङ्गा क्रिकेट क्लब
वेस्ट इन्डिजविरूद्ध, असार ७ – हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्सविरूद्ध, असार ९ – ताकासिङ्गा क्रिकेट क्लब

नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी,  प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology