कोलकाता विरुद्ध बैंगलोरको विशाल जित

NAWALPUR TIMES

कोलकाता विरुद्ध बैंगलोरको विशाल जित
1602525448585

आईपीएल २०२० अन्तर्गत २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनको विशाल अन्तरले पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। 

८२ रनको जित लिग इतिहासमा बैंगलोरको संयुक्त रुपमा पाँचौ ठूलो रन अन्तरको जित हो। २०१६ मा पन्जाबलाई पनि बैंगलोरले समान अन्तरले पराजित गरेको थियो।

शारजाह स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। कोलकाताको लागि ओपनर शुबमन गिलले ३४, आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लक्ष्य पछ्याउने क्रममा कोलकाताले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। डेब्यु गरेका ओपनर टम बान्टन ( ८ रन ) चौथो ओभरमा नभदिप सैनीबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि गिलले नितिश रानासंग २८ रनको साझेदारी गरे। आठौँ ओभरमा रानालाई ( ९ रन ) वासिंगटन सुन्दरले बोल्ड गरे। लगत्तै ओभरमा शुबमन गिल रन आउट भए भने ११ औं ओभरमा युजभेन्द्र चहलले कप्तान दिनेश कार्तिक ( १ रन ) लाई बोल्ड गरे। लगत्तै ओभरमा सुन्दरले ओएन मोर्गन ( ८ रन ) लाई क्याच आउट गराए।

आक्रामक मुडमा देखिएका आन्द्रे रसेललाई इसुरु उदानाले १४ औं ओभरमा क्याच आउट गराए पछि बैंगलोर पूर्णत खेलमा हावी बन्यो। १५ औं ओभरमा क्रिस मोरिसले प्याट कमिंस ( १ रन ) लाई तथा १७ औं ओभरमा राहुल त्रिपाठीलाई मोहम्मद सिराजले पेभेलियन फर्काए।

१ विकेट लिएका चहलले ४ ओभरमा मात्र १२ रन खर्चिए

बैंगलोरको बलिंगमा क्रिस मोरिस ( ४-०-१७-२ ) र वासिंगटन सुन्दरले ( ४-०-२०-२ ) समान २ विकेट लिए। युजभेन्द्र चहलले १ विकेट मात्रै लिएता पनि ४ ओभरमा मात्र १२ रन खर्चिए। नभदिप सैनी ( ३-०-१७-१ ) इसुरु उदाना ( १-०-१५-१ ) , मोहम्मद सिराजले ( ३-०-२४-१ ) समान १ विकेट लिए।

बैंगलोरको ब्याटिंग , डी भिल्लीयर्सको आक्रामक इनिंग 

टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ७४ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। डी भिल्लीयर्सको लिग करियरमा यो ३६ औं तथा जारि सिजन तेश्रो अर्धशतक हो। यस अघि उनले हैदरावाद र मुम्बई बिरुद्ध अर्धशतक बनाएका थिए। २३ बलमा अर्धशतक पुरा गरेका थिए।

कप्तान बिराट कोहलीले अविजित २८ बलमा १ चौका मद्दतले ३३ रन बनाए। आरोन फिन्चले ४७ ( ३७ बलमा ४ चौका र १ छक्का ) तथा देभदत्त पडीक्कलले ३२ रन ( २३ बलमा ४ चौका र १ छक्का ) बनाए।

डी भिल्लीयर्सले जारि सिजन तेश्रो अर्धशतक बनाउने क्रममा आक्रामक ब्याटिंग गरे

बैंगलोर ओपनर पडीक्कल र फिन्चले ६७ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा पडीक्कललाई आन्द्रे रसेलले बोल्ड गर्दै साझेदारी तोडे। १३ औं ओभरमा फिन्चलाई प्रसिध कृष्णाले बोल्ड गरे।

तेश्रो विकेटको लागि कप्तान कोहली र डी भिल्लीयर्सले उत्कृस्ट साझेदारी गर्दै टिमलाई विशाल योगफलतिर डोर्याएका थिए । ४७ बलमा दुवैले १०० रनको अविजित साझेदारी गरे। १५ ओभरमा १११/२ को अवस्थाबाट बैंगलोरले अन्तिम ५ ओभरमा विकेट नगुमाई बैंगलोरले ८३ रन बनायो।

कोलकाताको बलिंगमा आन्द्रे रसेल ( ४-०-५१-१ ) र प्रसिध कृष्णा ( ४०-४२-१ ) ले समान १ विकेट लिए भने प्याट कमिन्स ( ४-०-३८-० ) , वरुण चक्रवर्ती ( ४-०-२५-० ) र कमलेश नगरकोटी ( ४-०-३६-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक बटुल्दै अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान अंक रहेता पनि नेट रनरेटमा माथि रहँदै मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ। कोलकाता तेश्रोबाट चौथो स्थानमा पुगेको छ जसको ७ खेलमा ४ जित र ३ हार रहेको छ।

लिग अन्तर्गत कोलकाताले आगामी खेल शुक्रबार मुम्बई बिरुद्ध तथा बैंगलोरले आगामी खेल बिहिबार पन्जाब बिरुद्ध खेल्नेछ।

लिग अन्तर्गत भोलि मंगलबारको खेलमा हैदरावाद र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे राति सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology