कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

NAWALPUR TIMES

कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु
1945650652coronadeath

बुटवल । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

 

मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन्।

 

महिलाको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ।

 

उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

 

सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा आज बिहान साढे ४ बजे उनको मृत्यु भएको अस्पतालका कोरोना स्रोत व्यक्ति एंव वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए।

 

योसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

 

यसैगरी कलेजो र फोक्सोमा निमोनियाको समस्या देखिएपछि उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

 

अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए।

 

उनका अनुसार योसँगै नगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या दुई पुगेको छ। यसअघि वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो। रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology