कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’

NAWALPUR TIMES

कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’
1604627405027

कांग्रेस युवा नेता प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएका छन् । गत मंगलबारदेखि सार्वजनिक गरिएको यो प्लेटफर्मले प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ ।

प्लाज्मा चाहिएका व्यक्तिलाई सहज ढंगले जुनसुकै रक्त समूहको प्लाज्मा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले यस्तो अभियान थालिएको कांग्रेस नेता पौडेलले बताए । ‘प्लाज्मा एप’मा अहिलेसम्म ७० जनाभन्दा बढी दाताले फारम भरिसकेको र हरेक दिन प्लाज्मा चाहियो भन्दै फारम भर्नेको संख्या बढ्दै गएको अभियानका सदस्य शशांकश्री न्यौपाने बताउँछन् । पौडेलको यो अभियानमा न्यौपानेसँगै मेली शाह र लविश हमालले साथ दिएका छन् ।

मोबाइल एपमा प्लाज्मा दिन र लिन चाहने सबैको नम्बर राखिने भएकाले कतिवेला कुन रक्त समूहको प्लाज्मा चाहिएको हो, त्यसका लागि सजिलो हुने न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘कोही यो अभियानमा जोडिन चाहेमा प्लाज्मा एप डाउनलोड गरी प्लाज्मा फिचरमा गएर डोनर फारम भर्ने, लिन चाहनेले लिने फारम भरी कुन रक्त समूहको चाहिएको हो, त्यो भरेमा प्लाज्मा सहजै उपलब्ध हुन्छ ।’

स्वास्थ्यकर्मीका अनुसार कोरोना भाइरस संक्रमणबाट मुक्त भएको चौध दिनदेखि तीन महिनासम्म प्लाज्मा दिन मिल्छ । जसको फलस्वरूप शरीरमा एन्टीबडी विकसित भइसकेको व्यक्तिले प्लाज्मा दिँदा त्यसले अर्को गम्भीर संक्रमितलाई बचाउन मिल्ने चिकित्सकहरूको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्लाज्मा चाहिएको भन्दै सूचना राख्ने क्रम बढ्दै गएको छ । धेरैले दिइएको फोन नम्बरमा सम्पर्क गरी प्लाज्मा दान दिँदै आएका पनि छन् ।

कांग्रेस नेता गगन थापा र उनकी पत्नी अञ्जना केसी थापाले प्लाज्मा दान गर्ने जानकारी दिएका छन् । बिहीबार साँझ ट्विट गर्दै थापाले लेखेका छन्, ‘कोरोना संक्रमित कैयनको उपचारमा प्लाज्माथेरापी प्रभावकारी देखिएको छ । कोरोना संक्रमणबाट भर्खर मुक्त अञ्जना केसी थापा र मैले पनि प्लाज्मा दान गर्ने सोचले प्लाज्मा एपमा नाम दर्ता गराएका छौँ । यस्तो एपको महत्वपूर्ण कार्य आरम्भ गर्नुभएकोमा प्रदीप पौडेललाई धन्यवाद !!’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology