कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक ?

NAWALPUR TIMES

कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक ?
omicron

बिबिसी । युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, “असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।”

बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ।

ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै दिन आइतवार नेपालमा ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो ‘चिन्ताजनक भेरिअन्ट’को सूचीमा छ।

प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१२० जनाको नमुना परीक्षण गर्दा ५३ सङ्क्रमित थपिएका हुन्।

यससँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३३ जना पुगेको छ।

पछिल्लो केही दिनमा नेपालमा कोभिड पुष्टि दर केही बढेको छ।

ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन्।

पछिल्लो समय पहिचान भएका बीए फोर र बीए फाइभ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पुर्‍याएका डेल्टा भेरिअन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहेका पुनले बताए।

“यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन। एकदमै घातक हुन्थ्यो भने यसले युरोप र अमेरिकामा ठूलो क्षति पुर्‍याइ सकेको हुने थियो,” पुन भन्छन्।

“तर दुई मात्रामा खोप लगाएको छ, छैन। बुस्टर लगाएको छ, छैन। दीर्घ रोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्छ।”

यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरिअन्टहरू देखिएका थिए जसले सङ्क्रमणको ठूलो लहर निम्त्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology