कोराेनाको ‘हटस्पट’ बन्दै विद्यालय

NAWALPUR TIMES

कोराेनाको ‘हटस्पट’ बन्दै विद्यालय
school

काठमाडौं , १९ चैत । कोरोना भाइरसको संक्रमणको ‘हटस्पट’ का रुपमा स्कुल कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ ।

इन्जिनियरिङको स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगन गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए ।

‘भक्तपुरमा पनि एक्कासि धेरै विद्यार्थीमा संक्रमण भएको केसहरु देखिएका छन् । ८/१० जना विद्यार्थीलाई कोरोना संक्रमणको पुष्टि भएकाे छ’, डा. पौडेलले भने ।

डा. पौडेलले कोरोना संक्रमणका लागि विद्यालय जोखिम क्षेत्र रहेको उल्लेख गरे । ‘विद्यालयको होस्टलबाट पनि धेरैमा संक्रमण हुने जोखिम छ’, उनले भने, ‘अभिभावकले संक्रमित भएको अवस्थामा बालबच्चालाई विद्यालय पठाइदिनु भएन ।’

काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा देखिएका संक्रमितमा शिक्षक एंव विद्यार्थीको संख्या उल्लेखनीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology