कुशलको आक्रामक अर्धशतकमा मलेसिया विरुद्ध नेपालको विशाल जित

NAWALPUR TIMES

कुशलको आक्रामक अर्धशतकमा मलेसिया विरुद्ध नेपालको विशाल जित
1618827226746

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर १२.१ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले लगातार दोश्रो खेलमा शतकीय ओपनिंग साझेदारी गरे। १०२ रनको साझेदारी गरेपछि आसिफ १२ औं ओभरमा भिरनदिप सिंहबाट क्याच आउट भए। जस अघि आसिफले २९ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ रन बनाए।

त्यसपछि कुशल र दिपेन्द्र ऐरीले नेपाललाई जितसम्म पुर्याए। लगातार दोश्रो अर्धशतक बनाएका कुशलले अविजित ६१ रन बनाए जुन क्रममा ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। विजयी रन प्रहार गरेका दिपेन्द्रले ३ बलमा १ चौका मद्दतले ६ रन बनाए।

कुशलले बनाएको अर्धशतक टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको पहिलो लगातार अर्धशतक हो। लगातार दुई खेलमा नेपाली ब्याट्सम्यानले यस अघि अर्धशतक बनाउन सकेका थिएनन्।

यस अघि टस हारेर ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको थिय। मलेसियाको लागि सयद अजिजले सर्वाधिक २७ रन, शर्भिन मुनिएन्डीले २० रन तथा शफिक शरिफले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट ( ३-०-१७-३ ) , सन्दिप लामिछानेले २ विकेट ( ३.५-०-२५-२ ) तथा सोमपाल कामि ( ३-०-१३-१ ) , दिपेन्द्र ऐरी ( १-०-७-१ ) , शाहब आलम ( ३-०-२०-१ ) र कुशल मल्ल ( २-०-१५-१ ) ले समान १ विकेट लिए।

नेपालले सिरिज अन्तर्गत आगामी खेल नेदरल्याण्डसंग मंगलबार खेल्ने तालिका रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology