किन सास गन्हाउँछ, कसरी छुटकारा पाउने ?

NAWALPUR TIMES

किन सास गन्हाउँछ, कसरी छुटकारा पाउने ?
47891623647946

काठमाडौँ – अधिकांश मानिसलाई सास गन्हाउने समस्या हुन्छ। ‘दिनै दाँत ब्रस गरे पनि मेरो मुख साह्रै गन्हाउँछ’ भन्नेहरु धेरै भेटिन्छन्। ताजा सासले मानिसलाई अरुको अगाडि लज्जित हुनबाट जोगाउँछ भने दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपार्इं वरपर बस्नेलाई पनि असर गरिरहेको हुन्छ।

मानिसको स्वासको दुर्गन्ध हुनुमा मुखको सरसफाइमा कमी या कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ। यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन। मुख वा स्वासको दुर्गन्धलाई डाक्टरी भाषामा ‘हयालिटोसिस’ भनिन्छ।यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ। यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्‍न हुन्छ, मुखमा दुर्गन्ध आउनुको मुख्य करण दाँतको उचित सरसफाइ नहुनु नै हो।

सास गन्हाउनुका कारण :

पेटको समस्याः कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हुँदा पनि मुख गन्हाउने गर्छ। पेटको अल्सर भएमा यस्तो समस्या आउँछ। त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका खानेकुरा खाँदा पनि सासबाट गन्ध आउँछ। यस्ता खानाले ‘केटोन’ नामक दुर्गन्ध फाल्ने भएकाले सास गन्हाउने हुन्छ।

धूमपानः चुरोट सेवन गर्नेको सास सँधै गन्हाइरहेको हुन्छ । यस्तै, सुर्ती, गुट्खा खाने कुलत लागेका मानिसको मुखबाट दुर्गन्ध आउँछ ।

ब्याक्टेरियाः मुखभित्र ब्याक्टेरिया भएमा सास गन्हाउँछ। स साना ब्याक्टेरिया तपाईको  दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन्। यी ब्याक्टेरियाले मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्रोसँग गन्हाउँछ।

टन्सिल:  टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ। बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुने हुँदा दुर्गन्ध आउँछ।

तीक्ष्ण खानाः प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख गन्हाउने हुन्छ। तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ।

दुर्गन्ध हटाउने उपाय 

  • मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्ने
  • बिहान र राति खाना खाइसकेपछि दाँत माझ्‍ने
  • सम्भव भए केही खाए पिच्छे दाँत माझ्‍ने
  • दाँत माझ्दा जिब्रो सफा गर्न नबिर्सने
  • बेला बेलामा दाँत र मुखको चिकित्सकलाई देखाउने

सास गन्हाउने अवस्था हटाउन चुइनगम, मिन्ट, फ्य्रागरेन्ट डेन्टिफ्राइस, डियडरेन्ट, माउथवास, ल्वाङसुकुमेल र स्प्रे प्रयोग गरेको पाइन्छ। अस्थायी उपचारले कम भएको जस्तो भ्रम परे पनि रोग भित्रभित्रै बढ्दै जान सक्छ। थप जटिलता उत्पन्न हुन गई उपचार नै हुन नसक्ने रोग लाग्ने जोखिम हुन सक्ने भएकाले समयमै विशेषज्ञ परामर्श लिनु राम्रो हुन्छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology