कावासोतीका शिक्षण संस्थाहरु मंसिर ५ सम्म बन्द रहने, कक्षा ११ को परीक्षा भने सन्चालन हुने

NAWALPUR TIMES

कावासोतीका शिक्षण संस्थाहरु मंसिर  ५ सम्म बन्द रहने, कक्षा ११ को परीक्षा भने सन्चालन हुने
20200609 141039 1 1

प्रेम न्यौपाने/कावासोती 
नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाको बिपद ब्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कार्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि शिक्षण संस्थाहरु संचालनमा रोक लगाउने निर्णय भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो ।

सरकारले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि असोज पहिलो साताबाट धमाधम खुलेका नगरपालिका भित्रका विद्यालयहरु यसअघि कार्तिक २ गतेदेखि १४ गतेसम्म बन्द गर्न नगरपालिकाले निर्देशन दिएको थियो ।
निर्देशिकाले प्रत्यक्ष सिकाइ भन्दा बैकल्पिक सिकाइका लागि जोड दिएको भएपनि सबै विद्यार्थी बैकल्पिक सिकाइको पहुँचमा आउन नसकेको भन्दै असोज पहिलो सातादेखि विद्यालय सन्चालनमा आएका थिए । सिकाइ सहजीकरणका लागि विद्यालयहरुले प्रत्यक्ष सम्पर्क कक्षा सन्चालन गर्दा विद्यालयमा कोभिड संक्रमणको जोखिम बढ्न सक्ने तर्फ सचेत हुदै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपप्रमुख मर्दनियाले बताउँनुभयो ।

कार्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा फेस टु फेस पठनपाठनको कार्य गर्न रोक लगाइएको भएपनि कक्षा ११ को परीक्षा भने पूर्व निर्धारित समयतालिका अनुसार नै पूर्ण सावधानीका साथ सन्चालन हुने कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology