कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालिग्राम डुब्यो

NAWALPUR TIMES

कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालिग्राम डुब्यो
Parbat bajar1623747431
शुक्रबारदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाब बढेपछि विश्वकै ठूलो शिला शालिग्राम डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल स्याङ्जाको गल्याङ नगरपालिका– ५ सेतीवेणीमा रहेको शिलाशालिग्राम डुबानमा परेको हो

शिला संरक्षणका लागि बनाएको तटबन्ध समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको स्थानीय रेशमराज न्यौपानेले बताए । पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृत विद्यालय र मन्दिरसम्म आइपुगेको छ । अधिकांश घरभित्र समेत पानी पसेको छ ।

कालीगण्डकी नदी किनारमा भएको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा छ । कालिगण्डकी जलविद्युत परियोजनाको बाँध खोल्न लगाएकोले अहिले पानीको सतह कम भएको तर खतरा भने रहिरहेकाले स्थानीयलाई सुरक्षा अपनाउन भनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाले बताए ।

‘सेतीवेणी बजारभन्दा सात किलोमिटर तल रहेको कालीगण्डकी जलविद्युत् परियोजनाको ड्याम साइडको बाँधको ढोका पनि खोलिएको छ,’ अधिकारीले भने, ‘ढोका नखोलेर डुबानमा परेको हो भन्ने मानिसहरूको बुझाइ छ, त्यसो होइन, अहिले नदीमा पानीको सतह नै बढी छ ।’

वर्सेनी सेतीवेणीका नागरिकहरू जोखिममा पर्दा समेत संरक्षणका लागि कुनै निकायबाट उचित ध्यान  पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । पानी पर्न थालेपछि नै डुबाउन सक्छ कि भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक जेबि सोनीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology