कावासोती । नवल्पुरमा पर्ने कालिगण्डकी करिडोर खण्डमा रातको समयमा यातायात सञ्चालनमा प्रशासनले रोक लगाएको छ । करिडोर निमार्णको क्रममा रहेको र दुर्घटनाको जोखिम भएकाले रातको समयमा यातायात सञ्चालन गर्न रोक लगाएको हो ।
पहाडी भेगमा सञ्चार सम्पर्क नहुने हुँदा जोखिम बढ्ने तथा दुर्घटना भएको अवस्थामा पनि उद्धारमा समस्या हुने भएकाले रातको समयमा यात्रुवाहक सवारी सञ्चालन नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताए ।
‘निमार्णधीन अवस्थामा रहेका सडकमा दुर्घटनाको जोखिम हुने र केही स्थानमा टेलिफोन सम्पर्कसमेत नहुने अवस्था छ,’ तिवारीले भने, ‘यसअघि भएका दुईवटा सवारी दुर्घटनामा पनि फोन सम्पर्क नहुँदा प्रहरी र उद्धारका लागि जानसमेत समय लागेको तथ्यलाई समेत हेरेर रातको समयमा सवारी सञ्चालनमा रोक लगाएका हौं ।’
कालीगण्डकी करिडोरको पूर्वी नवलपरासीमा ८७ किलोमिटर पर्दछ । करिडोरमा यातायात सञ्चालन हुन थालेपछि यस क्षेत्रका स्थानीय पोखरा तथा पाल्पा जानका लागि यसअघि प्रयोग गर्दै आएको सडको दूरी टाढा हुने हुँदा करिडोरको सडक प्रयोग गर्न थालेका छन् । करिडोर निर्माण सम्पन्न भएपछि मात्र चौबिसै घण्टा सडक सञ्चालनका लागि अनुमति दिइने प्रशासनले जनाएको छ ।
प्रकाशित : २०८० भदौ २१ गते १५:४४
Facebook Comment