कावासोती । अविरल वर्षा सँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोरको गैंडाकोट-रामपुरखण्ड अवरुद्ध भएको छ ।
करिडोरको गैंडाकोट-रामपुर खण्ड अन्तर्गत बुलिङ्गटार गाउँपालिका वडा नं १ को राजवृक्ष भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
सडक खुलाउनको लागि करिडोर सडकखण्डको ईन्जिनियर सँग समन्वय भईरहेको डिएसपी पौडेलले बताए ।
यसै बिच ठाउँ ठाउँमा पहिरो खसेका कारण नवलपुरको पहाडी क्षेत्र जोडने दलदले–धौबादी–बुलिङटार ग्रामीण सडक समेत सन्चालनमा आएको छैन । दैनिक एक सयको हाराहारीमा सवारी साधन गुड्ने यो ग्रामीण सडक बन्द हुँदा पहाडी क्षेत्रका स्थानीय समस्यामा परेको बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमायाँ रानामगरले बताईन् । रानाका अनुसार धेरै ठाउँमा पहिरो गएको र बाटो खुलाउन अझै केही दिन लाग्ने छ ।
प्रकाशित : २०८० असोज १७ गते ८:१०
Facebook Comment